त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका सबै ६ फ्लडलाइटका टावर ठडिएका छन्। आइतबार दुईवटा टावर उठाएसँगै ६ वटै पोल ठडिएका हुन्।
रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएको हो । पोल नम्बर १, ४, ५ र ६ मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेको छ। पोल ठड्याइसकिएकाले दुईवटामा अब लाइट राखिने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले गत २३ असोजमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको अनुगमन गरेका थिए । निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपिएल) भन्दाअगावै प्यारापिट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता जनाएका थिए। प्यारापिटको निर्माण व्यवसायीले काम सम्पन्न गरिसकेको छ। एनपिएल आगामी १ मंसिरबाट सुरु हुँदै छ।
सरकारले गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गर्दै रंगशाला विस्तारका लागि दोस्रो चरणको निर्माण सुरु गर्ने निर्णय गरिसकेको छ।
मन्त्रिपरिषद्को ३० असोजको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ। गुरुयोजनाबमोजिम रंगशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण अगाडि बढाउने निर्णय गरेको थियो।