अस्ट्रेलियाका साम हिजलेटले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजन विराटनगर किङ्सबाट खेल्ने भएका छन् । स्पिनर सन्दीप लामिछाने मार्की रहेको विराटनगरले शनिबार हिजलेटलाई अनुबन्ध गरेको जनाएको हो ।
हिजलेटको आगमनले टिमको मध्यक्रम बलियो हुने टिमले विश्वास लिएको जनाएको छ । हिजलेटले अस्ट्रेलियाका लागि यू–१९ स्तरमा खेलेका छन् र एक ओडिआई पनि खेलेका छन् । टी–२० आईमा भने उनले डेब्यु गर्न बाँकी छ । हिजलेटले बिग ब्यास लिगमा ब्रिसबेन हिटबाट खेल्दै ५० खेलमा आठ सय ४० रन बनाएका छन् ।
उनको स्ट्राइक रेट एक सय २३ को रहेको छ । विराटनगरले यसअघि पहिलो खेलाडीका रूपमा स्कटल्यान्डका जर्ज मन्सेलाई घोषणा गरिसकेको छ । यसपटकको एनपिएल मंसिरमा आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । आठ टिम सहभागी लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।