प्रेरक प्रसंग : दुर्योधनलाई स्वर्ग

आइतबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

१८ दिनपछि महाभारतको युद्ध समाप्त भयो । सम्पूर्ण कौरव सेना र योद्धा युद्धमा मारिइसकेका थिए । पाण्डवले पनि केही समय शासन सञ्चालन गरेपछि उनीहरू स्वर्गतर्फको यात्राका लागि सबै भाइ हिमालय पुगे । त्यहाँ पुग्दानपुग्दै द्रौपदीसहित सबै भाइ ढले । पत्नी र भाइहरू ढलेपछि युधिष्ठिर मात्र एक्लै स्वर्ग गए । 

युधिष्ठिर जीवितै स्वर्ग गएका थिए । त्यहाँ उनले स्वर्ग र नरक दुवै देखे । उनले स्वर्गमा प्रवेश गर्नासाथ त्यहाँ आरामसाथ बसिरहेका दुर्योधनलाई देखे । उनले आफ्ना भाइलाई पनि भेटे । बाटामा भाइहरू ढल्दै गर्दा पनि प्रश्न गरिरहने भीमले यहाँ पनि दाजु युधिष्ठिरसित प्रश्न गरे– दाजु, यो दुष्ट दुर्योधनले जीवनभर अनीतिको पक्ष लियो । यसले जीवनमा दुराचारसिवाय केही गरेन । उसले जीवनमा स्वर्ग प्राप्त गर्ने एउटै पुण्य कर्म गरेको थिएन । तैपनि, उसले स्वर्ग कसरी प्राप्त गर्यो ? के ईश्वरको न्यायमा पनि पक्षपात हुन्छ हो ? 

युधिष्ठिरले भने– त्यस्तो होइन भीम, ईश्वरीय विधानअनुसार प्रत्येक पुण्यको परिणाम अत्यन्त थोरै नै भए पनि उसले स्वर्ग प्राप्त गर्छ । सबै दुर्गुण हुँदाहुँदै पनि दुर्योधनमा एउटा सद्गुण थियो, जसको प्रसादस्वरूप उसलाई स्वर्गमा स्थान प्राप्त भयो । भीमले सोधे– दुर्योधनमा त्यस्तो कुन सद्गुण थियो, जसका कारण उसलाई स्वर्गमा स्थान प्राप्त भयो ?

युधिष्ठिरले जवाफ दिए– ऊ आफ्नो लक्ष्य प्राप्त गर्नका लागि जहिल्यै तन्मयतासाथ जुटिरह्यो । आफ्ना खराब संस्कारका कारण उसले जीवनलाई सही दिशा दिन नसके पनि उसको मार्ग भने सही थियो । ध्येयप्रति एकनिष्ठ रहनु पनि निकै ठुलो सद्गुण हो । यस सद्गुणको पुण्यको परिणामस्वरूप केही समयका लागि उसलाई स्वर्गमा स्थान प्राप्त हुनु निश्चित थियो ।

सुझावित समाचार