मणिपालपछि गण्डकी हुँदै चरक अस्पतालका नर्सहरू पनि आन्दोलित

शनिबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

अस्पतालले श्रमशोषण गरेको भन्दै पोखरा फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल एवं टिचिङ अस्पतालमा कार्यरत नर्सहरूबाट सुरु भएको आन्दोलन पोखरा–९ नयाँबजारस्थित गण्डकी मेडिकल कलेज हुँदै पोखरा–८ नागढुंगास्थित चरक मेमोरियल हस्पिटल प्रालिसम्म पुगेको छ । शनिबारदेखि चरक हस्पिटलमा कार्यरत नर्सहरूले समेत आन्दोलन सुरु गरेका हुन् ।

चरकमा काम गर्ने नर्सहरूले आफूहरूको तलब स्केल जम्मा ९–१० हजार मात्र रहेको बताएका छन् । नर्सहरूले शनिबारदेखि अस्पताल भवनको मुख्य प्रवेशद्धार अघि प्लेकार्डसहित धर्ना एवं नाराबाजी गर्दै आन्दोलन सुरु गरेका हुन् ।

यसअघि अस्पतालले श्रम शोषण गरेको भन्दै २४ असोजदेखि मणिपाल र २७ असोजदेखि गण्डकीमा कार्यरत नर्सहरूले काम छाडेर आन्दोलन जारी राखेका छन् ।

तीन वटै अस्पताल परिसरमा प्लेकार्डसहित धर्ना दिएर नाराबाजी गरेका नर्सहरूले ‘न्याय दे, हाम्रो माग पुरा गर, श्रमशोषण बन्द गर, हामी मेसिन हैन नर्स हाैँ, अब त अति भो, नो पे नो वर्कलगायत लगायतका नारा लगाउँदै आएका छन् । 

यसअघि अस्पताल प्रशासनलाई आफ्ना मागहरू राख्दै ज्ञापनपत्र बुझाएका उनीहरूको माग सुनुवाई नभएपछि आन्दोलन सुरु गरेका हुन् । उनीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको तलबसँगै अन्य सुविधा पाउनुपर्ने, वार्षिक रुपमा पाउँदै आएको चाडपर्व बिदा, घर बिदा, बिरामी बिदालगायत सुविधा, भत्ता, जोखिम विभागमा काम गर्नेले सोहीअनुसारको भत्ताको व्यवस्था हुनुपर्ने माग राखेका छन् । उनीहरु अब आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र तिहारपछि पोखराबाट सुरु भएको आन्दोलन  देशभर चर्काउने तयारीमा छन् । 

अफिन अध्यक्ष कपिल पोखरेल भन्छन्– तलब होइन, ट्रेनीको रुपमा खाजा खर्च र बस भाडा मात्र दिएको हो 
एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) गण्डकीका अध्यक्ष समेत रहेका चरकका प्रबन्ध निर्देशक कपिल पोखरेले नर्सहरूलाई आफूहहरू (प्राइभेट हेल्थ इन्स्टिच्युसन) ले ट्रेनीको रुपमा खाजा खर्च र बस भाडा मात्रै दिएको बताएका छन् । 

पोखरेलले भन्छन् ‘स्टाफ भनेको आवश्यकताअनुसार डिमान्ड एण्ड सप्लाइको कुरा हो । ४० तलब खानेहरू पनि छन् । हामी (प्राइभेट हेल्थ इन्स्टिच्युसन) कसले पनि बाटोमा समाएर वा हिडिराको मान्छेलाई तानेर ल्याएर स्टार्फ नर्सको जागिर खा भनेका छैनौँ । उहाँहरू आफैं भोलेन्टियर गर्छु भनेर निजी अस्पताल, मेडिकल कलेजहरूमा छिर्नुहुन्छ । हामीले त फ्रिमा काममा लगाउनु हुन्न भनेर ट्रेनी स्टाफको रूपमा १०, १२, १५ हजार रुपैयाँ दिएको हो । यो तलब होइन । ट्रेनीको रुपमा खाजा खर्च र बस भाडा मात्र दिएको हो । स्वास्थ्य मन्त्रालयको परिपत्रअनुसार तलब भने दिन सकिदैन ।’ 
 

सुझावित समाचार