नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा अोलीले यो देशमा एमाले भएका कारण शान्ति सुव्यवस्था कायम रहने बताएका छन्। जेन-जीको आन्दोलनमा गोली चलाउन लगाएर शान्ति सुव्यवस्था बिगारेको बताउँदै उनले यो आन्दोलनमा आफूलाई फसाउन खोजेको दाबी गरे।
‘प्रहरीका १२ सय हतियार लुटिएका छन्, एक लाख गोली लुटिएका छन्, के यो मजाक हो?’ शनिबार पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको चियापान कार्यक्रममा उनले भने– ‘अटोमेटिक गन लुटिएको छ, साढे पाँच हजार कैदी बन्दी अझै बाहिरै छन्, उनीहरूलाई कसले भगाए, गोलीगट्ठा कसले लुट्न लगाए?’
यस्तो अवस्थामा चुनाव गराउने नाटक भइरहेकोसमेत उनले टिप्पणी गरे। दललाई चुनावमा भाग लिन नदिने कुरा आइरहेको बताउँदै उनले के दललाई चुनावमा भाग लिन नदिएर एक्लै चुनाव लड्ने भन्दै प्रश्न गरे। उनले दललाई चुनावमा भाग लिन नदिएर कस्तो चुनाव हुन्छ भन्दै जेन-जीको नाममा आन्दोलन गरेर प्रधानमन्त्री बन्ने मात्र काम भएको टिप्पणी गरे।
बंगलादेशमा पनि जेन-जीले आन्दोलन गरेर ७५ वर्षकालाई हटाएर ८५ वर्षकालाई देशको जिम्मा दिएको भन्दै उनले त्यहाँको जेन-जी आन्दोलनसमेत कहाँ गयो भन्दै प्रश्न गरे।