- खम्पाको तर्फबाट पनि कडा काउन्टर आयो । सुरुमा उनीहरूलाई हामीले नजरअन्दाज गरेका थियौँ । उनीहरूसँग हतियार कति नै होला जस्तो लागेको थियो । तर, उनीहरूसँग त अमेरिकामा निर्मित आधुनिक हतियार पो रहेछन् । एकछिन त हामीलाई पनि हल्लाए । तर, हामी सुरक्षित पोजिसनमा थियौँ ।
खम्पा नि:शस्त्रीकरण अभियानका लागि दार्चुलाको तिंकरतर्फ लाग्नुअघि हामीलाई थाहा थिएन, के कामका लागि त्यसतर्फ जाँदै छौँ । २०३१ साल भदौको महिना हरेक दिन बैतडीमा रहेको सेनाको ब्यारेकबाट हेलिकोप्टर उडिरहेको थियो । मेरो घर झुस्कु गाउँ, हाल महाकाली नगरपालिका–६ मा पर्छ । त्यतिवेला म अरिदमन गुल्ममा कार्यरत थिएँ र हाम्रो बाहिनीपति हुनुहुन्थ्यो, तत्कालीन जर्नेल आदित्यशमशेर राणा । मलाई खुब मन पराउने ।
आफ्नो गाउँ पनि दार्चुला परेको हुनाले यतिवेला पल्टनका अरू साथीलाई दिनहुँ हेलिकोप्टरमा कोचेर तिंकरतर्फ लैजाँदा डाहा पनि लागेको थियो । दुई दिनपछि मेरो पालो आयो । बाहिनीपति आदित्यशमशेरसँग जति नै नजिक भए पनि मलाई कुन मिसनका लागि सेनाले तिंकर लाँदै छ, थाहा थिएन । एक प्रकारले भन्नुपर्दा पूरै गोप्य राखिएको थियो, त्यो मिसन । भदौको १५–१६ गते हुनुपर्छ, म त्यसतर्फ लाग्दा । त्यहीँ पुगेपछि थाहा भयो, आउनुको उद्देश्य । हामीभन्दा अगाडि तिंकर पुगेका साथीहरूले भने, ‘खम्पा लडाकुका नाइके गे वाङ्दीलाई समात्ने गोप्य मिसनका लागि हामीलाई यहाँ ल्याइएको हो ।’
पहिले हामीलाई के–के न होला जस्तो लागेको थियो । लडाइँका लागि ल्याइएको रहेछ भनेपछि खिस्रिक्क परियो । हाँसो पनि उठ्यो । मर्ने हो कि, मारिने हो ? अत्तोपत्तो थिएन । दुस्मन कहाँ छ, त्यो पनि थाहा छैन । मनमनै डर पनि लागेको थियो । तर, सेनाको कडा अनुशासनमा बसेका हामीसँग धेरै कुरा सोच्ने फुर्सद पनि थिएन । किनभने, रातदिन गस्ती गर्नुपर्थ्यो ।
३२–३४ जनाका दरले हतियारसहित हामी ठाउँ–ठाउँमा खटिएका थियौँ । जमदार दानबहादुर चन्दको नेतृत्वमा ३४ जनाको डफ्फामा म तिंकरबाट लिपुलेकको वरपर गस्तीमा खटिएको थिएँ । अन्य ३४ जना कालापानीतर्फ, ३५ जना तिंकर र लगभग १०० को हाराहारीमा छाङरुमा । वाङ्दी मारिनु एक दिनअघि २३ भदौमा तिंकरमा पानी परेको थियो । तिंकरबाट हिँड्दै लिपुलेकतर्फ जाँदै गर्दा भारी हिमपात भएको थियो । टाटा पुग्दा ठुलो मात्रामा हिउँ परिरहेको थियो । रातिको गस्तीका लागि त्यहाँ पुगेका थियौँ । तर, हिमालमा परेको हिउँले गर्दा रात उज्यालोमा बित्यो । वाङ्दीसँग लड्न हामीले ढुंगाको ट्रेन्च बनाएका थियौँ । वास्तवमा नेपाली सेनाले एक साता अघिदेखि नै लिपुलेक, कालापानी क्षेत्र, तिंकर र छाङरुमा गस्ती गरिरहेको थियो ।
२४ भदौको बिहान पनि हिउँले लिपुलेक क्षेत्र सेताम्य थियो । हिँड्डुल गर्न निकै अप्ठेरो । लिपुलेकमा गस्ती गरिरहेकै वेला पाँच सय मिटर तल खोचमा एक हुल मानिस आउँदै गरेको देखेपछि सजग भयौँ । याकमा बन्दोबस्तीका सामान बोकाएर घोडामा मान्छे आउँदै गरेको देखेपछि हामीलाई खुट्याउन गाह्रो भएन, तिनीहरू वाङ्दीकै लडाकु हुन् भनेर । तर, वाङ्दी कस्ता छन्, उनको हुलियाको विषयमा जानकार थिएनौँ ।
२० वटा घोडा र ३४ खच्चरसम्म मैले गन्न भ्याएँ । सबै जवानलाई सतर्क रहन जमदार दानबहादुर चन्दले उर्दी लगाउनुभयो । हामी पूर्ण सतर्कतामा बस्यौँ । खम्पाहरू हाम्रो रेन्जमा आएपछि चन्दले फायर खोल्न हामीलाई आदेश दिनुभयो । त्यतिवेला कमान्डरले फायर खोलेपछि म र प्युठ मोती चन्दले पहिलो फायर खोलेका थियौँ । लगत्तै साथीहरूले ।
खम्पाको तर्फबाट पनि कडा काउन्टर आयो । सुरुमा उनीहरूलाई हामीले नजरअन्दाज गरेका थियौँ । उनीहरूसँग हतियार कति नै होला जस्तो लागेको थियो । तर, उनीहरूसँग त अमेरिकामा निर्मित आधुनिक हतियार पो रहेछन् । एकछिन त हामीलाई पनि हल्लाए । तर, हामी सुरक्षित पोजिसनमा थियौँ । ढुंगाको चेपलाई डिफेन्स बनाएर अडेस लाग्दै फायर गरिरहेका थियौँ । नेपाली सेना र खम्पा विद्रोहीबिच दोहोरो भिडन्त हुँदा केही समयका लागि लिपुलेक क्षेत्र अस्तव्यस्त भयो । सेतो हिमाल भएको ठाउँ गोलाबारुदको धुवाँ र आगोले ढाकिएको थियो । एकछिन त मान्छे पनि नदेखिने स्थिति बन्यो । हामी माथिबाट गोली बर्साउँदै थियौँ । तलबाट कराएको आवाज आइरहेको थियो । साँझसम्म आक्रमणको सिलसिला चलिरह्यो । त्यो दिन उनीहरूतर्फ कति क्षति भयो, यकिन हुन सकेन । तर, हामीतर्फ कुनै क्षति भएन ।
पछि थाहा भयो, त्यो लडाइँमा खम्पा विद्रोहका नाइके गे वाङ्दी मारिएका रहेछन् । उनीसहित थप ६ जना दोहोरो भिडन्तमा मारिए । अरू पनि घाइते भए होलान् । तर, उनीहरू मैदान छोडेर भागिसकेको हुनाले थाहा हुन सकेन । वाङ्दीको शरीर गोलीको छर्राले क्षतविक्षत् भएको थियो । उनी आफ्नो घोडामा पनि थिएनन् । लडाइँकै क्रममा थुप्रै खम्पाहरू कालापानीतर्फ भाग्दै गरेको देखिएको थियो । केही खच्चरमा सामान बोकाएर तिब्बततर्फ फर्किए ।
१० दिन कालापानी र लिपुलेक क्षेत्रमा गस्ती गर्दा चिसोले अनुहारको छाला डढेको थियो । ओठबाट रगत चुहिएको स्मरण ताजै छ । खम्पासँग मुठभेड भएको रात हामीले घटनास्थलमै बितायौँ । राति टर्च लाइट बालेर तिंकर फर्किंदा लुकेर बसेका दुस्मनले आक्रमण गर्न सक्ने सम्भावना प्रबल थियो । नेपाली सेनाको आक्रमणमा परेपछि धेरै खम्पाहरू हातहतियार छाडेर भागेका थिए । राति सुनसान भएको मौकाको फाइदा उठाउँदै उनीहरू फर्किन सक्ने सम्भावना पनि उत्तिकै थियो ।
वाङ्दीलगायत खम्पाहरूको लास भोलिपल्ट हामीले तिंकर ल्याएका थियौँ । वाङ्दीको सनाखत गर्न काठमाडौंबाट खम्पाका पूर्वकमान्डर गेहिसीलाई तिंकर ल्याइएको थियो । वाङ्दीको लास क्षतविक्षत् थियो । वाङ्दीले लगाएको ज्याकेट ब्लेडले काटेर हात पछाडि हेर्दा पाखुरामा खत देखियो । यसपछि हिसीले उनी वाङ्दी नै भएको पुष्टि गरे । वाङ्दीको लासलाई सुरक्षा दिएर नेपाली सेनाले दुई दिनसम्म तिंकरमै राख्यो । नेपाली सेनाका जर्नेल आदित्यशमशेर राणाको उपस्थितिमा तिंकरमुनिको खोलामा बौद्ध परम्पराअनुसार वाङ्दीको दाहसंस्कार गरिएको थियो । यो अप्रेसन सम्पन्न भएपछि मात्र हामी तिंकरबाट पुन: गणमा फर्कियौँ ।
(हालै प्रकाशित राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ बाट)