नेपालकै प्रसिद्ध शक्तिपीठ पाथीभरा माताको मन्दिरमा यस वर्षकाे असोज महिनाभर श्रद्धालु भक्तजनले चढाएको भेटीको रकम सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पाथीभरा क्षेत्र विकास समितिले जारी गरेको विवरण अनुसार असोज महिनाभर भक्तजनबाट जम्मा ३३ लाख ५२ हजार रुपैयाँ भेटी संकलन भएको हो ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङलेको हस्ताक्षर रहेको पत्रमा असोज महिनाको विभिन्न मितिमा भक्तजनले नेपाल बैंकमार्फत जम्मा गरेको रकम क्रमशः असोज ७ गते एक लाख १० हजार रुपैयाँ, असोज १२ गते एक लाख ८ हजार रुपैयाँ, असोज १७ गते १० हजार रुपैयाँ र असोज ३१ गते ३० लाख ३४ हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
यसरी जम्मा ३३ लाख ५२ हजार रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ । समितिले धार्मिक आस्था, पारदर्शिता र सार्वजनिक जवाफदेहितालाई निरन्तरता दिने उद्देश्यले प्रत्येक महिनाको भेटी तथा दर्शनार्थीको विवरण सार्वजनिक गर्दै आएको बताएको छ । सोही अवधिमा पाथीभरा माताको दर्शन गर्न आएका भक्तजनको संख्या २२ हजार नौ सय ७४ जना पुगेको समितिको विवरणमा उल्लेख छ ।