नेपाल आइसिसी विश्वकप छनोटमा अपराजित रहँदै च्याम्पियन

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिकको च्याम्पियन भएको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा नाै टोली सहभागी हुँदा नेपाल च्याम्पियन भएकाे हाे।

नेपाल यसअघि नै भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा छनोट भइसकेको छ। यो विश्वकप ७ फेब्रुअरीदेखि ८ मार्चसम्म हुँदै छ।

सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार नेपालले सामोआलाई १२४ रनले पराजित गरेकाे हाे। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २१२ रनको लक्ष्य दिएको थियो। प्रतियोगितामा नेपालले बनाएको यो नै ठुलो स्कोर हो।

प्रत्युत्तरमा सामोआले सात विकेटको क्षतिमा मात्र ८७ रन बनायो। सामोआका सिन सोलियाले सर्वाधिक ४० र बेन माइलताले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका ललितनारायण राजवंशीले एक मेडनसहित तीन विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक–एक विकेट लिए।

उच्च लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका ओपनर आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे। शेखले ४१ बलमा सात चौका र चार छक्कासहित ६९ रन जोड्दा ३३ बल खेलेका ऐरीले दुई छक्का र चार चौकासहित ५३ रन बनाएका थिए।अर्का ओपनर कुशल भुर्तेलले १७ र कप्तान रोहित पौडेलले २१ रन बनाउँदा लोकेश बम विस्फोटक रूपमा प्रस्तुत भए। उनले १२ बलमा ३९ रन जोडेका थिए।

नेपाल सुपर सिक्समा पाँच खेलबाट सर्वाधिक १० अंकसहित शीर्ष स्थानमा रह्यो। प्रतियोगितामा नेपाल एक मात्र अपराजित टिम बनेको छ।

सुझावित समाचार