प्रेरक प्रसंग : पुजारी र किसान

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

एउटा पुजारी आफ्नो कारबाट कहीँ जाँदै थियो । जाँदै गर्दा उसले बाटोमा एउटा असाधारण रूपले मनमोहक खेतको दृश्य देख्यो र ऊ रोकियो । ऊ कारबाट बाहिर निस्किएर खेतको एक छेउमा उभिँदै मनमनै खेत र लहलह झुलेका बालीको खुब सराहना गर्न थाल्यो । केहीबेर उसले मन्त्रमुग्ध भएर एकोहोरो निहारिरह्यो । सो खेतको किसान पनि आफ्नो ट्याक्टर लिएर कतै जाँदै थियो । पुजारीलाई खेतको छेउमा उभिएर टकटकी लगाइरहेको देखेर ऊ पनि रोकियो । जहाँ पुजारी थिए, ऊ पनि सोही स्थानमा गयो । पुजारीले उसलाई देखेर भने, ‘भगवान्ले तिमीलाई यस्तो सुन्दर खेत दिनुभएको छ । तिमी यसका लागि आभारी हुनुपर्छ ।’

किसानले उत्तर दिन्छ, ‘हो, भगवान्ले मलाई एउटा मनमोहक खेतका साथै भरपूर आशीर्वाद पनि दिएका छन् । म यसका लागि उनीप्रति आभारी छु । तर, तपार्इंले यो खेत त्यतिखेर हेर्नुपर्ने थियो, जतिखेर यो पूरै बाँझो र रुखो थियो ।’ पुजारी उसको जवाफ सुनेर अवाक भयो । 

लहलह बाली नहुँदा यो खेत जमिनको एउटा टुक्रा मात्रै थियो । किसानको मिहिनेतले नै यो खेतलाई मनमोहक र अन्नबालीले भरपूर बनाएको हो । अनि भगवान्ले पनि तिनै व्यक्तिलाई मात्र सहयोग गर्छन्, जसले आफैँले आफूलाई मद्दत गर्छन् । भाग्यवादी मानिस केवल चिज एवं घटनाको  प्रतीक्षा मात्रै गर्दै बस्छन् । उनीहरू कहिल्यै पनि प्रयास गर्दैनन् । तर, पौरखीहरूले आफ्नो भाग्यको निर्माण आफँै गर्छन् । चिज एवं घटना निर्माणको भरमग्दुर प्रयास गर्छन् । 

सुझावित समाचार