दाङको तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ। स्थानीय पूर्णबहादुर पुनको घरमा लाएको पलम १५ असोजदेखि नै फुल्न थालेको हो।
अघिल्ला वर्ष फागुन/ चैतमा पलम फुल्ने गरे पनि यस वर्ष भने असोजमै फुल्न थालेको स्थानीय प्रविर पुनले बताए । ‘विगतका वर्षमा फागुन/चैतमा फुल्थ्यो,’ उनले भने, ‘तर, यस वर्ष असोजमै फुल्न थालेको छ ।’ त्यहाँ प्रायः सबै घरमा पलमको बोटहरू छन् । तीमध्ये पूर्णबहादुरको घरको पलम फुलेको हो।
समयभन्दा अगाडि फुल्नु जलवायु परिबर्तनको असर नै रहेको वनस्पतिविज्ञ खेमराज शर्माले बताए । ‘तापक्रम उच्च हुँदा यसरी समयभन्दा अघि फुल्ने हुन्छ,’ उनले भने, ‘अहिले हरेक वनस्पतिमा यस्तो देखिएको छ ।’