आगामी पुस दोस्रो साता पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ हुने भएको छ । साक यान्त मुवाथाईको आयोजनामा हुने तेस्रो संस्करणको तीन दिने सिरिज १०, ११ र १२ पुसमा हुने भएको हो ।
आयोजकले मुवाथाईसँगै चर्चामा रहेको एमएमए (मिक्स मार्सल आट्र्स) को समेत आयोजना गर्ने भएको छ । जुन प्रतियोगिता गण्डकी प्रदेशमा नयाँ अनुभव र केजमा हुने संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।
यसअघिका दुई संस्करणको सफलतापछि आयोजकले तेस्रो संस्करणको मिति घोषणा गरी गण्डकी प्रदेशमै पहिलोपटक केज फाइट आयोजना गर्न लागेको क्षेत्रीले जानकारी दिए । सिरिजले पोखरामा मार्सल आर्टका समर्थक र पर्यटकलाई थप आकर्षण पैदा गर्ने विश्वास आयोजकको रहेको उनले बताए ।
फाइटलाई नयाँपन दिनका लागि यस वर्ष आयोजना हुने सिरिजलाई केजमा गराउने जानकारी दिँदै क्षेत्रीले फाइट नाइट आफैमा रोमाञ्चक खेल रहेको र यसले पर्यटनको राजधानी शहर पोखराको पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्ने उनको दाबी छ । यसअघि हामीले टिभिसँगै सोसल मिडियामा विदेशमा भएका केज फाइट हेरेको र अब त्यो पोखरामै हेर्न पाइने उनको भनाइ छ ।
पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइडमा हुने प्रतियोगिताको यसअघि सम्पन्न दुई संस्करणमा नेपालसहित स्पेन, पाकिस्तान, भारत, श्रीलंका लगायतका खेलाडीले सहभागिता जनाइसकेका छन् ।