जिल्लाको पुरानो अस्पतालका रूपमा परिचित भीम अस्पतालको व्यवस्थापन र सेवा प्रवाहमा सुधार आएसँगै उपचारका लागि अस्पताल जानेको संख्या बढ्दो छ । आमनागरिकको विश्वास सरकारी अस्पतालप्रति नहुँदा निजी अस्पतालमा जाने बिरामीहरू अहिले भने सरकारी भीम अस्पतालमा जाने गरेका छन् । अस्पतालले उपलब्ध गराउनुपर्ने सम्पुर्ण सुविधाहरू व्यवस्थित रूपमा गराउन थालेसँगै आमनागरिक निजी अस्पताल जान छाडेर सरकारी भीम अस्पताल आउन थालेकाे भीम अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष कुलप्रसाद न्यौपानेले बताए ।
अस्पतालको व्यवस्थापन, उपचार सेवा, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा सुधार आएसँगै अहिले बिरामीहरूको रोजाइ भीम अस्पताल बन्न थालेको अस्पतालका पूर्वअध्यक्ष विशेश्वरप्रसाद बस्यालले बताए । रुपन्देहीको सबैभन्दा पुरानो भीम अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाहरू पछिल्ला वर्षमा गुणस्तरीय बन्दै गइरहेका छन् । कोरोना कालपछि अस्पतालको सेवामा निकै सुधार आएको हो ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालय र भीम अस्पतालद्वारा भैरहवामा आयोजित आव ०८१/८२ मा भीम अस्पतालले प्रदान गरेका सेवाको वार्षिक समीक्षा कार्यक्रममा अस्पतालमा उपचारको सेवा गुणस्तर बन्दै गए पनि समयसापेक्षअनुरूप उपचार सेवालाई अझ विश्वासिलो र प्रभावकारी बनाउनुपर्ने जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चपाईंले बताए ।
‘तीन वर्षको अवधिमा भीम अस्पतालबारे धेरै गुनासा सुन्नमा आएका थिए । अहिले धेरै सुधार भएकाले गुनासा कम छन्,’ चपाईंले भने । अस्पतालमा कार्यरत चिकित्सकलाई सेवामुखी भएर अस्पतालमा काम गर्न आग्रह गर्दै उनले बिमाबापतको रकम तत्काल भुक्तानी उपलब्ध नहुने समस्याले बिमाको उपचार कसरी सञ्चालन गर्ने भन्ने समस्या जताततै हुन थालेको बताए ।
नेकपा एमाले सिद्धार्थनगरका नगर कमिटी इन्चार्ज चक्र थापाले पहिला गरिब दुःखीको मात्र भनिने भीम अस्पताल अहिले मध्यमवर्गीय तथा हुनेखाने बिरामीका लागि पनि उपचार गर्ने अस्पताल बनेको बताए । अहिले सरकारी अस्पतालले पनि निजी अस्पतालहरूसँग प्रतिस्पर्धा गर्न सक्षम हुन थालेको थापाले बताए वि.सं. १९९० सालमा स्थापित भीम अस्पतालमा हाल सरकारबाट ५० बेड स्वीकृति छ । अस्पताल विकास समितिबाट थप ५७ बेड थप गरी गरी १०७ बेड अहिले सञ्चालनमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सकुन्तला गुप्ताले बताइन् । सीमित स्राेत साधन र जनशक्तिको अधिकतम प्रयोग गरेर गुणस्तरीय उपचार प्रदान गरिँदै आइएको गुप्ताले बताइन् ।
अस्पतालमा हाल व्यवस्थापन, चिकित्सक, प्राविधिक र अन्य कर्मचारी समेत गरी कुल १८० जना कर्मचारी कार्यरत छन् । जसमध्ये, ७५ जना सरकारी दरबन्दीका रहेको अस्पतालका मेडिकल रेकर्ड सुपरभाइजर खमजंग खत्रीले बताए ।अस्पतालमा १३ जना सिनियर विशेषज्ञ र आठजना मेडिकल अधिकृत कार्यरत रहेका छन् । भीम अस्पतालमा आव ०८१/८२ मा ओपिडीतर्फ एक लाख २० हजार ३४६ जना बिरामी उपचारका लागि आएका थिए ।
अस्पतालमा प्रतिदिन एक हजार १४९ वटा ल्याब टेस्ट हुने गरेको छ भने प्रतिदिन अल्ट्रासाउन्ड ३४ र मुटुको इसिजी १३ वटा हुने गरेको छ । भीम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. अनन्तकुमार शर्माले भीम अस्पतालको सेवाहरूलाई अझ प्रभावकारी बनाउन आफ्नो पहल निरन्तर रहने बताए ।