काभ्रेपलाञ्चाेक जिल्लाको महाभारत गाउँपालिका– ५, चौढिकमा वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । चौढिक युथ क्लबको आयोजनामा हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः घोर्ले खसी, लर्कने बोका र नौसिङ्गे भाले पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने भएको हो ।
क्लबका सल्लाहकार तथा एलटिआर मगर सेवा समाजका अध्यक्ष टेकबहादुर तुम्सिङ मगरका अनुसार नेपालीहरूको महान् पर्व बडादसैँ, शुभ–दीपावलीलगायत पर्वको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरेको जानकारी दिए । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ महाभारत– ५ चौढिक खाल्टामा कात्तिक ४ गते प्रतियोगिता आयोजना गरिने उनको भनाइ छ ।
हरेक वर्ष दीपावलीको अवसरमा देउसी–भैलो कार्यक्रम आयोजना गर्दै आएकोमा यस वर्ष भलिबल प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष बेनबहादुर तुम्सिङ मगरले जानकारी दिए । क्लबका सदस्यहरूसँग सहयोग संकलन तथा क्लबको स्रोतबाट प्रतियोगिता आयोजना गर्न लागेको उनको भनाइ छ ।
वडा नम्बर ५ का वडाध्यक्ष विजय रानामगरले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिए । प्रतियोगितामा वडाभरिका ६ टिमभन्दा बढीले भाग लिने आयोजकले जानकारी दिए ।