लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिका चिकित्सकहरूलाई निजी अस्पतालमा काम नगर्न निर्देशन गरेको छ । बुधबार मन्त्रालयमातहतका अस्पतालमा रहेका छात्रवृत्तिका चिकित्सकहरूलाई यस्तो निर्देशन गरेको हो ।
वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरीका अनुसार सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनाेट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालक कार्यविधि २०७२ बमोजिम कामकाजमा खटिएका विशेषज्ञ चिकित्सकहरुलाई यस्तो निर्देशन गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ काठमाडौंबाट नियुक्ति लिएका शिक्षक चिकित्सकहरूले निजी रूपमा चिकित्सकीय सेवा प्रदान गर्न नपाइने प्रावधान रहेको छ। सोहीअनुसार बुधबार प्रदेशका सबै अस्पताललाई पत्र लेख्दै यस्तो निर्देशन गरिएको प्रशासक चौधरीले बताए । हाल छात्रवृत्तिका चिकित्सकहरु निजी अस्पतालमा काम गर्न गएको गुनासो आइरहेको छ ।
