नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाएको छ । विश्वकपअन्तर्गत एसियन छनोटमा बुधबार घरेलु टोली ओमानलाई ३८ रनले हराउँदै नेपाल आठ अंकका साथ शीर्ष स्थानमा उक्लेको छ ।
मैदानमा प्रतिस्पर्धा गर्नुअघि नै नेपाल र ओमानले अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा स्थान पक्का बनाइसकेका थिए । युएईले सामोआलाई हराउनु र कतारले जापानमाथि सनसनी जित निकाल्दा नेपाल र ओमान दुई खेलअगाडि नै विश्वकपमा पुगेका थिए ।
ओमान ६ अंकमा दोस्रो स्थानमा झरेको छ । महत्वपूर्ण खेलमा नेपालले पहिलो ब्याटिङ गर्दै नौ विकेट गुमाएर १५१ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा ओमानले २० ओभरमा नौ विकेटको क्षतिमा ११३ रन जोड्दा नेपाल ३८ रनले विजयी भयो ।
नेपालको जितमा ब्याटिङतर्फ कुशल भुर्तेलले ५१ बलमा ६९ रनको अर्धशतकीय योगदान दिएका थिए । उनी नै खेलमा म्यान अफ दी म्याच भए । बलिङमा गुल्सन झाले चार ओभरमा ३१ रन खर्चेर सर्वाधिक तीन विकेट हात पारे ।
प्रतिस्पर्धामा दीपेन्द्रसिंह ऐरीले लगातार पाँच खेलमा रनआउट गरेका छन् । ओमानमाथि सहज जित निकालेपछि नेपालका कप्तान रोहित पौडेलले एक वर्षदेखि टी–२० विश्वकप खेल्ने सपना सकार भएको बताएका छन् ।
‘हामीले एक वर्षदेखि लगातार दोस्रो र समग्रमा तेस्रोपटक विश्वकप खेल्ने सपना देखेका थियौँ । आज सबै नेपालीको सपना पूरा भएको छ,’ कप्तान पौडेलले भने, ‘मलाई विश्वास छ, भारतमा धेरै नेपाली समर्थक जानेछन् र हामीलाई समर्थन गर्नेछन् । उनले छनोटमा च्याम्पियन भएर नेपाल फर्किने बताए । ‘अब एक खेलमा जितका साथ च्याम्पियन भएर घर फर्कनेछौँ,’ उनले भने ।