०८२ सालको षडानन्द राष्ट्रिय पुरस्कार मुन्धुम संस्कृतिविद्, लिम्बू भाषा, साहित्य तथा संस्कृतिका अध्येता, अनुसन्धाता एवं कवि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ अर्थात् बैरागी काइँलालाई प्रदान गरिने भएको छ। आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानका सचिव प्राडा बद्रीविशाल भट्टराईले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।
नेम्वाङले लिम्बू संस्कृति, भाषा तथा लोक साहित्यको अध्ययन, अनुसन्धान, संकलनमा महत्वपूर्ण योगदान दिएका छन् । उनका लिम्बू संस्कृति, भाषा र लोक साहित्यसँग सम्बन्धित एक दर्जनजति पुस्तक, एउटा शब्दकोश तथा विभिन्न पत्र पत्रिकामा दर्जनौँ लेख रचना प्रकाशित छन् ।
नेम्बाङले लिम्बू संस्कृतिसँग सम्बन्धित ग्रन्थहरूलाई नेपाली भाषामा अनुवादसमेत गरेका छन् । लिम्बू भाषा, साहित्य र संस्कृति संरक्षणमा अतुलनीय योगदान पुर्याएका कारण नेम्वाङलाई षडानन्द राष्ट्रिय पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका सचिव भट्टराईले बताए।
यसैगरी, षडानन्द क्षेत्रीय पुरस्कार यस वर्ष काशीनाथ तमोटलाई प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ । पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्ति वा संस्थालाई यो पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको सचिव भट्टराईले जानकारी दिए।
नेवारी संस्कृति, भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका कारण तमोटलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको प्रतिष्ठानले जनाएको छ ।