अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई स्पष्टीकरण सोधेका छन्। बुधबार कार्यवाहक अध्यक्ष खड्काले महासचिव राईलाई तीनदिन समय तोकेर स्पष्टीकरण सोधेका हुन्।
कार्यवाहक अध्यक्ष खड्काले राईलाई जिम्मेवार पदमा बसी संस्थाकै बदनाम गराउने, संस्थाको मूल मर्मविपरीत खेलाडीको भावनामाथि आघात पुर्याउने र एन्फाको सर्वोच्च निकायको निर्णयलाई समेत एकतर्फी रूपमा परिमार्जन गरी संस्थालाई दुर्घटनातर्फ लैजाने जस्तो गम्भीर अपराधजन्य कार्य गरेको ठहर गरेका छन्।
उनले साधारणसभाबाट बजेटसमेत पारित भइसकेको अवस्थामा लिग नगराउनुको कारण तीन दिनभित्र दिन माग गरे। ‘साधारण सभाबाट अनुमोदित कार्यक्रमहरू परिमार्जन गरी सिंगो नेपाली फुटबलको संरचनालाई ध्वस्त बनाउने कार्य कुन अधिकारको प्रयोग गरी गर्नुभएको हो ? साथै, २०८२/०६/२८ गते एन्फा कार्यसमितिलाई जानकारी समेत नगराई होम एण्ड अवे लिग नहुने भनी गरिएको पत्रकार सम्मेलनले सिंगो नेपाली फुटबल समर्थक, खेलाडी, प्रशिक्षक, रेफ्री, सम्पूर्ण सरोकारवालाहरू र अन्तर्राष्ट्रियस्तरमा समेत बदनाम हुने गरी सार्वजनिक भएको धारणाका कारण समग्र एन्फालाई बदनाम बनाएको छ,’ स्पष्टीकरणमा सोधिएको छ।
यस्ता गतिविधिले संस्थाको गरिमामा आँच आउनुका साथै खेलाडीहरु प्रत्यक्ष मारमा पर्ने भन्दै भनिएको छ, ‘तपाईलाई किन कारबाही नगर्ने भन्ने सम्बन्धमा आजका मितिले तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन गर्दछु।’
अध्यक्ष पंकजविक्रम नेम्वाङ हाल साउदी अरेबियाको भ्रमणमा छन्। एन्फाको बिधानअनुसार अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले कार्यभार सम्हालेछन्। सोही नियममा रहेर खड्काले राईलाई प्रष्टिकरण सोधेका हुन्। कार्यवाहक अध्यक्ष खड्काले तोकिएको समयभित्र स्पष्टीकरण प्राप्त नभएमा संस्थाको नियमअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन्।
यसअघि २६ वैशाख २०८२ धुलिखेलमा सम्पन्न नियमित वार्षिक साधारण सभाले नेपाली फुटबलको मेरुदण्डको रुपमा रहेको सहिद स्मारक ’ए’ डिभिजन लिग २०८२ पौष १ गतेबाट सञ्चालन गर्ने घोषणा गरेको थियो। लिगका लागि एन्फाले साधारणसभाबाट १० करोड ४६ लाख २२ हजार २६५ रुपैयाँ ९८ पैसा बजेट स्वीकृत गरेको थियो।
महासचिव राईले मंगलबार मात्रै पत्रकार सम्मेलन गर्दै यो वर्ष सहिद स्मारक ए डिभिजन लिग ‘होम एण्ड अवे’ पद्धतिमा हुन नसक्ने जानकारी गराएका थिए। उनले लिग भएपनि कुन ढाँचामा र कहिले हुने समेत जानकारी गराएनन्। यसपछि राष्ट्रियस्तरका खेलाडीदेखि आम समर्थकले एन्फाको चर्चो आलोचना गरेका छन्।
एन्फा निर्वाचनतर्फ केन्द्रित हुँदा घटनाक्रमले पनि नयाँ मोड लिन थालेको छ। त्यसो त नेम्वाङ तीन वर्षअघि निर्वाचित भएदेखि यो कार्यसमिति विवादमुक्त हुन सकेको छैन। एकै प्यानलबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष खड्का पहिलो महिनाबाटै अलग भएका थिए। त्यसपछि एन्फाको हरेक कार्यसमिति बैठक र साधारणसभा विवादास्पद हुँदै आएको छ।