राप्रपा बैठक : सबै राजनीतिक शक्तिलाई राष्ट्रिय सहमतिका लागि आह्वान

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देश गम्भीर भूराजनीतिक दबाब र राजनीतिक अनिश्चिततामा फसिरहेको निष्कर्ष निकाल्दै सबै राजनीतिक शक्तिहरूबिच बृहत् राष्ट्रिय सहमति आवश्यक रहेको जनाएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठक बोलाउने र महाधिवेशन मिति तोक्ने निर्णय गरेको छ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले जेन्जी समूह, विभिन्न राजनीतिक दल र राजसंस्थाबीच नवीन समझदारी गरेर सबैले जित्ने राष्ट्रिय सहमति बनाउने समय आएको ठहर गर्दै तत्काल संवाद र सार्थक पहलका लागि सबै पक्षलाई आह्वान गरेको छ।

राप्रपाले परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीका मुद्दा र विकल्पबारे अन्य दलहरूसँग औपचारिक संवाद गर्न अध्यक्ष लिङ्देनलाई विशेष जिम्मेवारी दिएको छ। बैठकले वर्तमान संविधान र निर्वाचन प्रणालीबाट दीर्घकालीन समाधान सम्भव छैन भन्ने ठहर गर्दै पार्टी प्रजातान्त्रिक प्रक्रियाबाट अलग नहुने निर्णय गरेको छ।

पार्टीले छठ पर्वपछि देशभर जनस्तरसँग प्रत्यक्ष संवाद गर्न जनसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्तिक २७ र २८ गते काठमाडौंमा बोलाई सो बैठकबाट केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय गरिएको छ।

जेनजी आन्दोलन र चाडपर्वका कारण प्रभावित अधिवेशनहरू मंसिर मसान्तभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ। साथै, आन्दोलनपछि केही समूहबाट भैरहेको जबर्जस्ती चन्दा असुली, निःशुल्क शेयर माग र सार्वजनिक पदाधिकारीमाथि दबाबजस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गर्दै यस्ता गैरकानुनी कार्य नगर्न जेनजी पुस्तालाई आह्वान गरेको छ।

बैठकले हालको आन्दोलनका कारण अर्थतन्त्रमा खर्बौंको क्षति पुगेको भन्दै सरकारलाई सुरक्षित लगानी वातावरण, व्यवसायीको सुरक्षाको प्रत्याभूति र शिथिल अर्थतन्त्र उकास्ने कार्ययोजना ल्याउन आग्रह गरेको छ।

अनुशासन समितिको सिफारिशअनुसार राप्रपा जुम्लाका अध्यक्ष वेदबहादुर शाही, उपाध्यक्षद्वय बिमल शाही र कालीबहादुर महत तथा कर्णाली प्रदेश सदस्य मनसुर सुनारलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरिएको छ।

राप्रपाले हालैको बाढी–पहिरोबाट इलामसहित देशका विभिन्न क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहत, घाइतेको उपचार र घरबारबिहीनका लागि आवासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

जेनजी आन्दोलनका क्रममा पार्टीका नेता तथा कार्यकर्तामाथि भएको दुर्व्यवहार र सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई आफ्ना प्रभावित सहकर्मीलाई सहयोग गर्न राप्रपाले आह्वान गरेको छ।

बैठकले केन्द्रीय कार्यसम्पादन समितिमा रिक्त रहेका सदस्यहरूको पदपूर्ति गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई प्रदान गरेको छ।

सुझावित समाचार