१४औँ भेटमा ब्राजिललाई हरायो जापानले

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण
  • १३ खेलसम्म अपराजित रहेको पाँचपटकको विश्वकप विजेता ब्राजिल पहिलोपटक जापानसँग ३–२ ले स्तब्ध 

जापानले पाँचपटकको विश्व विजेता ब्राजिललाई मंगलबार मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ३–२ ले स्तब्ध बनाएको छ । जापानले १४औँ भेटमा पहिलोपटक ब्राजिललाई हराएको हो । यसअघि ब्राजिलले जापानलाई ११ पटक हराएको छ । यी दुई राष्ट्रबिच दुई खेल बराबरीमा टुंगिएको छ । अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप अगाडि जापानकोे पूर्वविश्व च्याम्पियनमाथिको जित सनसनी मानिएको छ ।

टोकियोको अजिनोमोटो रंगशालामा ब्राजिलले रवाफिलो सुरुवात गरेको थियो । पहिलो हाफमा ब्राजिलले पाउलो हेनिके र ग्याब्रियल मार्टिनको गोलमा जापानविरुद्ध २–० को अग्रता लिएको थियो । तर, दोस्रो हाफमा ब्राजिलले आफ्नो लय बिगार्यो । घरेलु मैदानमा जापानले ब्राजिलको कमजोरी फाइदा लिँदै ३–२ ले बाजी मार्यो । जापानको उत्कृष्ट पुनरागमनमा ताकुमी मिनामिनो, केइतो नाकामुरा र आयासे उएदाकाले गोल गरेका थिए । यससँगै जापानले नतिजा उल्ट्याउँदै ब्राजिलमाथि ऐतिहासिक जित हात पारेका हो । ब्राजिलका प्रशिक्षक कार्लोस एन्सेलोटीले दोस्रो हाफमा ब्रुनो गिमारेस, भिनिसियस जुनियर र मार्टिनेलीलाई परिवर्तन गरेका थिए । फर्ममा र सेट भएका खेलाडीलाई मैदानबाहिर राख्दा कार्लोसले ठुलै मूल्य चुकाए । ब्राजिलले प्रमुख तीन खेलाडी बाहिर राख्दा जापानले लयपूर्ण फुटबल प्रदर्शन गर्यो । ब्राजिलको लगातार आक्रमणअगाडि जापानले खेलमा रक्षात्मक रणनीति अपनाएको थियो । 

ब्राजिलले नसोचेको नतिजा
ब्राजिलले पहिलो हाफमा दुई गोलको अग्रता लिएपछि प्रशिक्षक कार्लोस आत्मविश्वासी देखिएका थिए । मध्यान्तरपछि सहजै जापानमाथि दबाब बनाइ राख्ने योजना प्रशिक्षक कार्लोसको थियो । खेल पूर्ण रूपमै नियन्त्रणमा रहेका कारण उनले नयाँ खेलाडीलाई मौका दिए । जुन उनको यो निर्णय घातक बन्यो । ब्राजिलका कप्तान कासेमिरोले दोस्रो हाफमा आफ्नो टोलीबाट धेरै गल्ती भएका स्विकारेका छन् । ‘दोस्रो हाफमा के भयो कसैलाई पनि थाहा छैन, यो फुटबलको एक लेभल हो । जसमा गल्ती गरे कस्तो नतिजा हात पार्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ,’ उनले भने, ‘हामीले यस्तो नतिजा कल्पना गरेका थिएनौँ ।’ कप्तान कासेमिरोले विश्वकपअगाडि गल्ती नहुने बताए । ‘विश्वकप आउन धेरै महिना बाँकी छैन । यस अवधिमा हामीले आफ्ना कमीकमजोरीलाई सच्याउनुपर्छ,’ उनले भने, ‘यदि यस समयमा केही गर्न सकेनौँ भने विश्वकपमा राम्रो प्रदर्शन हुन सक्दैन ।’ 

कार्लोसको प्रशिक्षणमा दोस्रो हार
यसै सिजनमा ब्राजिलले कार्लोसलाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । कार्लोसले प्रशिक्षण सम्हालेपछि ब्राजिलले दोस्रोपटक हार सामना गरेको हो । यसअघि गत मेमा ब्राजिल बोलिभियासँग दक्षिण अमेरिकी विश्वकप छनोटमा पराजित भएको थियो । यसै साता ब्राजिलले अर्को एसियन राष्ट्र दक्षिण कोरियासँग प्रतिस्पर्धा गरेको थियो । 

जसमा ब्राजिलले दक्षिण कोरियालाई ५–० ले पाखा लगाएको थियो । यद्यपि, ब्राजिल दक्षिण कोरिया र जापान आगामी विश्वकपमा छनोट भइसकेका छन् । कार्लोसले दक्षिण कोरियासँगको खेलमा प्रतिस्पर्धा गरेका खेलाडी इस्टेभा र रोड्रिगोलाई बेन्चमा राखेका थिए । साथै, म्यानचेस्टर युनाइटेडमा आबद्ध म्याथ्युस पनि बेन्चमा रहे । कार्लोसले जापानविरुद्ध आक्रमण रणनीति अपनाउँदा मार्टिनेली, हेन्रिक तथा भिनिसियसलाई अगाडिको पोसेसनमा राखे । जापानले भने केही महŒवपूर्ण खेलाडीविना नै प्रतिस्पर्धा गरेको थियो । 

See More On

सुझावित समाचार