महाकाली अस्पतालमा ‘सिटिस्क्यान’ सेवा सुरु

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

महाकाली प्रादेशिक अस्पतालले सिटिस्क्यान सेवा सुरु गरेको छ । भीमदत्त नगरपालिका– १८, महेन्द्रनगरमा रहेको महाकाली अस्पतालले आजदेखि सिटिस्क्यान सेवा सुरु गरेको हो । 

औपचारिक रूपमा मंगलबारदेखि सिटिस्क्यान सेवा सुरु गरेको अस्पतालले जनाएको छ । अस्पतालका निमित्त मेसु डा. अर्जुनकुमार भट्टले सिटिस्क्यान एक्स-रेबाट बिरामी चेकजाँच सुरु गरिएको बताए । ‘जनशक्ति अभावका कारण अहिले दीपावलीसम्म बिहान १० देखि साँझ ५ बजेसम्म मात्र सेवा दिन्छौँ,’ मेसु भट्टले भने, ‘तिहारपछि जनशक्ति थपेर २४सै घण्टा सेवा दिन्छौँ ।’ 

सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले अस्पतालबाट प्रदान गर्ने सेवा स्तरवृद्धि भएकाले नियमित प्रभावकारी सञ्चालनमा जोड दिँदै आवश्यक जनशक्ति, स्रोतसाधन मन्त्रालयबाट सहयोग गर्ने बताए ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट(किरण)ले नियमित प्रभावकारी सेवा सञ्चालनमा जोड दिँदै आवश्यक जनशक्ति स्रोतसाधनका लागि प्रदेश सरकारबाट समेत आवश्यक सहयोग आवश्यक रहेको औँल्याएका छन् ।

 ६२ वर्षअघि स्थापना भएको महाकाली अस्पतालमा क्रमिक रूपमा स्तरवृद्धि हुँदै आएको छ । ०२० मा प्राथमिक स्वास्थ्य केन्द्र, ०३३ मा जिल्ला अस्पताल, ०४३ मा अञ्चल अस्पताल, ०६१ मा स्तरवृद्धि गर्दै एक सय बेडबाट सेवा र ०७५ सालदेखि प्रादेशिक अस्पतालका रूपमा सञ्चालन हुँदै आएको छ ।

सुझावित समाचार