संखुवासभाको खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङमा छैटौँ मानेभञ्ज्याङ फुटबल कप प्रतियोगिता सुरु भएको छ। आज (मंगलबार) एक कार्यक्रमबिच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरे।
खेलकुदले युवाहरूमा अनुशासन र ऊर्जा थप्ने बताउर्दै विगतदेखि हालसम्म एड्भान्स क्लबले निरन्तर रूपमा प्रतियोगिता गरिरहेको भन्दै आयोजक क्लबलाई उनले धन्यवाद दिए। ‘सामाजिक सद्भावका लागि युवा एकता–विकृति, विसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ भन्ने नारासहित मंगलबारदेखि सुरु भएको प्रतियोगिता शनिबार समापन हुनेछ।
प्रतियोगितामा जिल्लाभित्रका एड्भान्स, खाँदबारी युथ क्लब, लोहोरुङ, सेकाहा क्बल, पांमा क्लब, तुम्लिङटार स्पोर्टिङ क्लब,मानेभञ्ज्याङ स्पोर्टिङ, हाङचुवा क्लब, चाँदनी युवा क्लब, चिचिला क्लब, कर्माशील क्लब, तीनपोखरी क्लब, भोटिया क्लब, मकालु फ्रेन्डस क्लब, सभापोखरी क्लब, गाउँले फुटबल क्लब, एकता परिवार क्लब, शीतलपाटी क्बल, स्वर्निम मत्स्यपोखरी क्लब र किमाथांका युथ क्लब गरी २० वटा क्लबले सहभागिता जनाएका छन्।
प्रतियोगिताको पहिलो दिन ३ वटा खेल भए। मानेभञ्ज्याङ फुटबल क्लब र पांमा समाज सेवाबिच भएको खेलमा ३–१ अंकले मानेभञ्ज्याङ विजयी बने। त्यसैगरी मकालु फ्रेन्ड्स क्लब र कर्माशील फुटबल क्लबबिच भएको खेलमा ३ शून्यले मकालु फ्रेन्ड्स क्लब विजयी बने। त्यसैगरी हाङ्चुवा क्लब र चाँदनी युथ क्लबबिच भएको खेलमा १ गोल गर्दै हाङ्चुवा क्लब विजयी बने।
विगतदेखि नै दसैँ र तिहारको बीचमा प्रतियोगिता सञ्चालन गर्दै आएको र त्यसैको निरन्तरता दिएको आयोजक एड्भान्स क्लबका अध्यक्ष जिल्लामान राईले बताए।
प्रतियोगिताका विजेताले १ लाख, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी सेमिफाइनलिस्ट दुई टिमले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडी ३ हजार, सर्वाधिक ३ हजार र उत्कृष्ट गोलरक्षकले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्।