जेन–जी आन्दोलनको अवसर छोपेर गत २४ भदौ मध्यराति मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारको पर्खाल फोडेर भागेका १८४ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागार प्रशासनका अनुसार कारागारबाट ४४० जना कैदीबन्दी फरार भएका थिए ।
कारागारका जेलर सुवास पौडेलका अनुसार फरार कैदीहरूलाई स्वेच्छाले आत्मसमर्पण गर्न २० असोजसम्मको समयसीमा दिइएकोमा सो अवधिमा ११३ जना फर्किएका छन् । १४३ जनालाई खोजतलासका क्रममा विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । भीमफेदी कारागारमा रहेका एक हजार ६६ मध्ये अहिले ९४६ जना कैदीबन्दी छन् ।
जेलर पौडेलले समयसीमा सकिए पनि सम्पर्कमा आउन कैदीबन्दीलाई आग्रह गरे । ‘समयसीमा सकिए पनि अझै सम्पर्क गर्न सकिनेछ,’ उनले भने, ‘प्रहरी र प्रशासन दुवै संयन्त्रले समन्वयपूर्वक खोजी अभियानलाई तीव्रता दिइरहेका छन् । ’फरारमध्ये सबैभन्दा धेरै लागुऔषध मुद्दामा सजाय काटिरहेका कैदीहरू रहेको कारागार प्रशासनले जनाएको छ ।
अन्य फरार कैदीहरूमा जबर्जस्ती करणी, कर्तव्य ज्यान र चोरीजस्ता गम्भीर आपराधिक मुद्दामा सजाय पाएका व्यक्तिहरू रहेको जेलर पौडेलले बताए । फाररमध्ये ३९ जना विदेशी नागरिकसमेत छन् ।
तीमध्ये १२ जना पक्राउ परे पनि बाँकी २७ जना अझै फरार छन् । जेन–जी आन्दोलनकै क्रममा २५ भदौमा हेटौँडा उपमहानगरपालिका– ११ थानाभर्याङस्थित बाल सुधारगृहबाट ७२ जना बालक फरार भएका थिए । तीमध्ये ६२ जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि बाँकी १० जना अझै फरार रहेको सुधारगृहका प्रमुख प्रदीप गौतमले बताए ।