विश्वकप छनोटको सोमबारको खेलमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतारले ब्याटिङमा उत्कृष्ट सुरुवात गरेको थियो। ९.६ ओभरमा पहिलो विकेट गुमाउँदा उसले ७९ रन बनाइसकेको थियो।
१३औँ ओभरको समाप्तिमा कतारले दुई विकेट गुमाएको थियो भने ४२ बलमा उसलाई ४३ रन चाहिएको थियो। कतार सहज जिततर्फ अगाडि बढिसकेको थियो। कुनै बलर नचलेपछि नेपालले जितको कुनै सम्भावना देखेको थिएन। तर, त्यहीँबाट नेपालले कतारलाई अलआउट गरी अविश्वसनीय शैलीको जित निकाल्यो।
त्यो कठिन अवस्थामा नेपालका कप्तान रोहित पौडेलले १४औँ ओभरमा नन्दन यादवलाई बलिङमा ल्याउने जोखिमपूर्ण निर्णय गरेका थिए। किनकि नन्दनले पहिलो ओभरमा १६ रन खर्चिसकेका थिए।
तर, रोहितको त्यही निर्णय महत्त्वपूर्ण र निर्णायक साबित भयो। जहाँबाट खेल नेपालको पक्ष पल्टियो । १४औँ ओभरको पहिलो र दोस्रो बलमा नेपालले कतारका खेलाडीलाई लगातार रनआउट गरेपछि नेपाल खेलमा फर्किएको हो । ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी र दोस्रो बलमा अदिल अन्सारीले डाइरेक्ट हिटमार्फत कतारका दुई विकेट झारेपछि कतार दबाबमा परेको थियो। सो ओभरमा नन्दनले एक रन मात्र दिएर उत्कृष्ट कमब्याक गरेका थिए।
यद्यपि, त्यसपछि पनि सेट ब्याट्सम्यान रहेका जुबेर अलीले कतारलाई जिततर्फ अग्रसर गराइरहेका थिए।
अन्तिम चार ओभर बाँकी रहँदा कतारले पाँच विकेट गुमाएको अवस्थामा उसका लागि २६ रन मात्र आवश्यक थियो। १७औँ ओभरमा बलिङमा आएका नन्दनले एक विकेट लिँदै दुई रन मात्र दिएपछि खेल रोमाञ्चक बनेको थियो।
१८औँ ओभरमा बलिङमा आएका दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएर चार रन मात्र दिएपछि अन्तिम दुई ओभरमा कतारलाई तीन विकेट बाँकी रहँदा २० रन चाहिएको थियो ।
१९औँ ओभरमा आएका नन्दनले ओभरकै पहिलो बलमै सेट रहेका ब्याट्सम्याद जुबेर अलीलाई क्याचआउट गराएपछि बल्ल नेपालले जितको ढोका खोलेको हो। यद्यपि, सो ओभरमा उनले तीन वाइडसहित १० रन दिए।
अन्तिम ओभरमा बलिङमा आएका सन्दीप लामिछानेले १० रन जोगाउनु थियो। ओभरका सुरुका दुई बल डट फालेका उनले तेस्रो बलमा विकेट लिए। चौथो बलमा एक रन तथा पाँचौँमा दुई रन दिएका उनले छैटौँ बलमा वाइड बलमा ब्याट्सम्यानलाई स्टम्पिङ आउट गराएका थिए। अन्तिम बलमा पाँच रन दिएर टिमलाई उनले जित दिलाएका हुन्। कतारविरुद्धको खेलमा उनले पाँच विकेटसमेत लिए।
कतारका दुवै ओपनरले अर्धशतक बनाए पनि अन्य ब्याट्सम्याद नचल्दा कतारले जितको अवसर गुमायो भने नेपालले उत्कृष्ट कमब्याक गरेर अर्काे रोमाञ्चक जित निकालेको हो।
यो जितसँगै नेपाललको सुपर सिक्समा ६ अंक भएको छ। जसले नेपाललाई टी–२० विश्वकपनजिक पुर्याएको छ। अब सुपर सिक्समा नेपालले ओमान र सामोआविरुद्ध दुई खेल खेल्न बाँकी छ। बाँकी दुईमध्ये एक जित नेपालका लागि विश्वकपका लागि पर्याप्त हुनेछ। दुवै खेल हारेमा भने नेपाल नेट रनरेटमा निर्भर हुनुपर्नेछ।
सुपर सिक्समा ६ टिममध्ये तीन टिमले विश्वकप यात्रा तय गर्नेछन्। नेपाल ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ भने ओमान पनि ६ अंकसहित पहिलो स्थानमा छ। नेटरनरेटका आधारमा ओमान अगाडि छ। त्यस्तै, युएई र जापान दुई अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छ। समूह चरणमा युएईको दुई तथा जापान र सामोआका तीन–तीन खेल बाँकी छन्। सामोआ हालसम्म अंकविहीन छ।
अंकतालिका
