अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित चार पदाधिकारीले नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि र नेपाली फुटबलको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका छन्। सोमबार खड्कासहित उपाध्यक्ष विराटजंग शाही, सदस्यद्वय रूपेश अधिकारी र रवीन्द्र चन्दले पत्रकार सम्मेलन गर्दै मार्गप्रशस्त गर्न अनुरोध गरेका हुन्।
आमसमर्थकमा संघप्रति चर्को असन्तुष्टि रहेको बताउँदै उनीहरूले अर्ली इलेक्सनको समेत माग गरेका छन्। पंकजविक्रम नेम्वाङको चार वर्षको कार्यकाल आगामी असारमा समाप्त हुँदै छ।
‘नेतृत्व असक्षम हुँदा त्यसको दोष हामी सबैले भोग्नुपरिरहेको वर्तमान अवस्थामा म अध्यक्ष तथा महासचिवज्यूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु कि नेपाली फुटबललाई थप दुर्घटनाबाट जोगाउनका लागि पनि तपाईंहरूले समयमै मार्गप्रशस्त गरिदिनुस्। अध्यक्षले राजीनामा दिनुस्। हामी रोकिएका सबै कार्यक्रम गर्छौँ,’ वरिष्ठ उपाध्यक्ष खड्काले भने, ‘वर्तमान एन्फा नेतृत्वले देखाएको कार्यशैलीले हामीलाई गम्भीर रूपमा निराश बनाएको छ।’
नेतृत्वले फुटबलको विकासका लागि गर्नुपर्ने आधारभूत कार्यहरूमा समेत उदासीनता देखाएको तथा संस्थागत पारदर्शिता कायम गर्न नसकेको उनीहरूको आरोप छ।
पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष खड्काले होम गेम होममै हुनुपर्ने बताए। भियतनामविरुद्ध मंगलबार हुने खेल पनि नेतृत्वले आफूखुसी भियतनाम लगेको आरोप लगाए। यस्तै, अध्यक्ष नेम्वाङ साउदी अरब जाँदा जिम्मेवारी नदिएर झनै नेपाली फुटबल डामाडोल पारेको उनको आरोप छ।
सदस्य चन्दले कार्यसमिति बैठकमा अल्पमतमा पर्दा आफूहरूको कुरा नसुनिएको बताए। आन्तरिक स्राेत नै जुटाउन नसक्दा नेतृत्व फुटबल विकासको कुनै ठोस योजनासहित अगाडि बढ्न नसकेको पनि उनले धारणा राखेका थिए।

