जनकपुरको प्रशिक्षकमा चन्द्रपाल

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

च्याम्पियन जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका महान् ब्याटिङ हस्ती शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । चन्द्रपालको नियुक्तिले नेपाल क्रिकेट लिग (एनपिएपल)मा आफूले बनाएको लिगेसीलाई निरन्तरता दिने अपेक्षा बोल्ट्स परिवारले लिएको छ ।

चन्द्रपालले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेलजीवनमा चन्द्रपालले २० हजारभन्दा बढी रन बनाए । उनीसँग क्यारेबियन प्रिमियर लिग (सिपिएल), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टी–२० र इन्डियन प्रिमियर लिगमा खेलेको अनुभव छ । उनले खेलाडीको रूपमा काउन्टी क्रिकेटमा पनि लामो समय बिताए ।

२०२२ मा ५१ वर्षे चन्द्रपाल सिपिएलको फ्रेन्चाइज टोली जमैका तलवाहजको प्रशिक्षक बने । सोही वर्ष उनी अमेरिका महिला राष्ट्रिय क्रिकेट टोलीको पनि प्रशिक्षक बनेका थिए । मंसिर १ गतेदेखि सुरु हुने एनपिएलमा जनकपुर डिफेन्डिङ च्याम्पियनको रूपमा चन्द्रपालको प्रशिक्षणमा कीर्तिपुर मैदानमा उत्रनेछ ।

‘जनकपुर बोल्ट्सले मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालसँग दीर्घकालीन सम्झौता गरेको छ । हामी विश्व क्रिकेटका तीव्र गतिमा बढ्दै गइरहेका लिगहरूमध्ये एकमा आफ्नो विरासतलाई अझ अगाडि लैजान प्रतिबद्ध छौँ । उनको उपस्थितिले हाम्रो प्रशिक्षक टोलीलाई स्थायित्व दिनुका साथै स्वदेशी जनशक्तिलाई सिक्न र बढ्न प्रेरित गर्नेछ । खेलका महान् दिग्गजका रूपमा उहाँले नयाँ विचार, रणनीति र दृष्टिकोण ल्याई बोल्ट्सलाई फेरि पनि विजेता बनाउने यात्रालाई बल दिने विश्वास छ ।’

निरोज खतिवडा, प्रबन्ध निर्देशक, जनकपुर बोल्ट्स

जनकपुर बोल्ट्सलाई गत वर्ष एनपिएलको पहिलो संस्करणमा च्याम्पियन बनाउने प्रशिक्षक पुबुदु दासानायकेलाई धन्यवाद दिएको छ । दासानायके हाल अमेरिकाको राष्ट्रिय टोलीका प्रशिक्षक छन् ।

सुझावित समाचार