संसद् विघटन भई नयाँ निर्वाचनको मिति तोकिएलगत्तै सिके राउत नेतृत्वको जनमत पार्टीमा तेस्रो पक्षले विद्रोह गरी नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढाएको छ । वरिष्ठ उपाध्यक्षको नेतृत्वमा ६ केन्द्रीय सदस्यले राजीनामा दिएको करिब एक महिनापछि उपाध्यक्षको नेतृत्वमा तेस्रो पक्षले नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढाएको हो ।
जनमतका उपाध्यक्ष दीपक साहको नेतृत्वमा निर्वाचन आयोगमा जनस्वराज पार्टी दर्ताका लागि निवेदन परेको छ । निर्वाचन आयोगका सूचना अधिकृत सुमन घिमिरेले निवेदन दर्ता भएको बताए । ‘निवेदन दर्ता भएको छ । अरू प्रक्रिया अघि बढेको छैन । राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधान हेरेर आयोग अगाडि बढ्छ,’ उनले भने ।
साहले भने नेताहरू बुझ्नका लागि निर्वाचन आयोगमा गएको बताए । ‘म आज कुरा गर्ने अवस्थामा छैन, साथीहरू बुझ्नका लागि निर्वाचन आयोगमा जानुभएको हो,’ उनले नयाँ पत्रिकासँग भने । ५२ सदस्यीय कार्यकारिणी समितिबाट अलग भएर १५ जनाले नयाँ पार्टी दर्ता प्रक्रिया अगाडि बढाएको साहको दाबी छ । साहसँगै कार्यकारिणी समितिका सदस्य सुरेन्द्रनारायण यादव, हेमलता रजक र शम्भुनाथ साहलगायत नेता नयाँ पार्टी दर्ता प्रक्रियामा लागेका हुन् ।
यसअघि भदौ अन्तिममा वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खानसहित केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव, कुमार यादव, सिके सिंह, राजाराम चौधरी र विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका थिए । साहले खानलाई नयाँ पार्टीको नेतृत्व गर्न आग्रह गरेका थिए । तर, खान सहमत नभएपछि आफ्नै नेतृत्वमा साहले नयाँ पार्टी दर्ताको प्रक्रिया अघि बढाएका हुन् ।
‘दीपकजीले अध्यक्षता गर्नुस् भन्नुभएको थियो । तर, मैले पार्टी फुटाउँदिनँ भनेँ । उहाँहरू पार्टीमा २० प्रतिशत पुर्याएर दर्ताका लागि निर्वाचन आयोग जानुभएछ,’ खानले भने, ‘अब के गर्ने र कसरी अगाडि बढ्ने भन्ने छलफलमै छौँ ।’खानलगायत ६ नेताले अध्यक्ष राउतको लिखित राजीनामा मागेका थिए । राउतले स्पष्टीकरणको तयारी गरेपछि उनीहरूले राजीनामा दिएका थिए ।
राउतले अनावश्यक रूपमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने क्रम बढाएपछि नयाँ पार्टीको प्रक्रिया अघि बढाएको साहपक्षीय नेताहरूको दाबी छ । पार्टी अध्यक्ष राउतले पार्टी विधि र आफ्नो एजेन्डामा चलिरहेको तथा नयाँ पार्टी गठनबारे आफूलाई थाहा नभएको बताए । ‘नयाँ पार्टी दर्ताको विषयमा मलाई थाहा छैन । यदि, साथीहरू त्यसरी लाग्नुभएको भए, शुभकामना छ,’ उनले भने, ‘हामी जनताको पक्षमा निरन्तर क्रियाशील छौँ । पार्टी नीतिविपरीत जाने जो–कोही अनुशासनको कारबाहीमा पर्छन् ।’