पोर्चुगलले फिफा विश्वकप– २०२६ अन्तर्गत युरोपियन छनोटमा शनिबार राति आयरल्यान्डमाथि १–० को जित निकालेको छ । समूह ‘एफ’मा महत्वपूर्ण ३ अंक हात पारे पनि कप्तान क्रिस्टियानो रोनाल्डोले प्रभावशाली खेल प्रदर्शन गर्न सकेनन् । आयरल्यान्डसँगको प्रतिस्पर्धामा रोनाल्डोले पेनाल्टी मिस गरेका थिए । यो वर्ष उनले तेस्रोपटक पेनाल्टीमा गोल गर्न नसकेका हुन् । रोनाल्डोले यसअघि युइएफए नेसन्स लिगमा डेनमार्कविरुद्धको ५–२ जितमा पनि पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । उनले दुई साताअघि साउदी प्रो लिगमा पनि पेनाल्टी मिस गरेका थिए ।
खेलको ७५औँ मिनेटमा पोर्चुगलले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । रोनाल्डोले प्रहार गरेको बललाई आयरल्यान्डका गोलरक्षक कोभिन केलेहले उत्कृष्ट बचाउ गरे । केलेहले अन्तिम क्षणमा खुट्टा उठाएर बल रोक्दै रोनाल्डोको पेनाल्टी असफल बनाए । जितसँगै पोर्चुगलले विश्वकप छनोटको तीनै खेल जित्दै ९ अंक बटुलेर समूह ‘एफ’को शीर्ष स्थान कायम राखेको छ । दोस्रो स्थानमा रहेको हंगेरीले समान खेलबाट ४ अंक बनाएको छ ।
पोर्चुगलले आयरल्यान्डविरुद्धको खेललाई दुई महिनाअघि भएको कार दुर्घटनामा निधन भएका डिएगो जोटाप्रति समर्पित गरेको थियो । आयरल्यान्डले बलियो पोर्चुगललाई ९० मिनेटसम्म गोलरहित बराबरीमा रोकेको थियो । खेलको अन्तिम इन्जुरी समयको पहिलो मिनेटमा रुबेन नेभेस नायक बने । उनले पोर्चुगललाई जित दिलाउन महत्वपूर्ण गोल गरे ।
उनी दिवंगत साथी जोटाले लगाउने २१ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिएका थिए । मिडफिल्डर रुबेनले हेडिङ गोल गरेका हुन् ।सन् २०१५ मा डेब्यु गरेका रुबेनले आफ्नो ५९औँ अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल गरे । पोर्चुगलले आयरल्यान्डविरुद्ध ७० प्रतिशत बल पोसेसन बनाएको थियो । पोर्चुगलले ३० वटा सट प्रहार गरेको थियो । खेलमा आयरल्यान्डको तुलनामा पोर्चुगलले धेरै गोल अवसर निकाल्दा सदुपयोग गर्न सकेन ।