एक महिनादेखि सेवा बन्द रहेको सर्वाेच्च अदालतमा मंगलबारदेखि रिट दर्ता हुने भएका छन् । आइतबार बसेको अदालतको पूर्ण बैठकले रिट दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो ।
२४ भदौको जेन–जी आन्दोलनमा मुख्य भवन जलाएपछि सर्वाेच्चले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य सेवा दिन सकेको छैन । एक महिनापछि सर्वोच्चले रिट दर्ता र सुनुवाइ गर्न लागेको हो । भवनसँगै सर्वाेच्चको सर्भरमा क्षति पुगेको थियो । सर्भर रिकभरको प्रयास भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
सर्वाेच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अन्य सेवाहरू पनि सञ्चालनका लागि गृहकार्य भइरहेको बताए । तर, अन्य सेवाहरू सुरु गर्न भने छठअघि सम्भव नभएको सर्वाेच्चका अधिकारी बताउँछन् । आन्दोलनका वेला सर्वाेच्चसहित काठमाडौं जिल्ला अदालत, उच्च अदालत विराटनगर, जिल्ला अदालत, मोरङ, जिल्ला अदालत दाङ र उच्च अदालत तुलसीपुरमा धेरै क्षति पुगेको छ । अन्य अदालतले भने सेवा सुरु गर्न थालेका छन् ।
यद्यपि, केन्द्रीय सर्भर प्रणालीबाटै पेसी व्यवस्थापन हुने भएकाले देशैभरिका अदालतको सेवा प्रभावित बनेको छ । सेवा सुरु नहुँदासम्म म्याद नगुज्रने सर्वाेच्च अदालतले प्रस्ट पारेको छ । ‘सर्वाेच्च अदालतका नियमित वा अन्य सेवा प्रवाहको अर्काे सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख गुज्रँदैन,’ सर्वाेच्चका सूचना अधिकारी नीराजन पाण्डेले भने ।