प्रहरी महिला संघद्वारा एरिका सम्मानित

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाएकी एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ । एरिकाले गत १७ देखि १९ असोजमा मलेसियामा भएको डब्लुकेएफ कराँते वान सिरिज ‘ए’मा ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । नेपाल प्रहरी श्रीमती संघले आइतबार एरिकालाई २५ हजार ५५५ रुपैयाँसहित सम्मान गरेको हो । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेकी हुन् । 

संघले नेपाली राष्ट्रिय कराँते टोलीका प्रशिक्षक एवं १३औँ दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरेको थियो । एरिका नेपाल पुलिस क्लबकी खेलाडी पनि हुन् । उनले गत शुक्रबार सम्पन्न च्याम्पियनसिपमा कुमितेमा ६८ केजी तौलमाथि स्वर्ण जितेकी थिइन् ।

उनले ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी थिइन् । सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० ले निराश पारिन् । कराँते वान सिरिज ‘ए’मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी पनि हुन् ।

सुझावित समाचार