आइसिसी टी–२० विश्वकप छनोट : एक रनको रोमाञ्चक जित

युएईलाई अन्तिम ३ बलमा ३ रन आवश्यक रहेको अवस्थामा नेपालले हरेक बलमा विकेट लिँदै निकाल्यो सनसनीपूर्ण जित

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

नेपालले आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर–६ मा युएईलाई रोमाञ्चक खेलमा १ रनले हराएको छ । सुपर सिक्सको महत्वपूर्ण पहिलो खेलमा ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको मध्यम योगफल बनाएको थियो । प्रत्युत्तरमा युएईले २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रन जोड्दा १ रनले स्तब्ध भयो । जितसँगै नेपाल सुपर सिक्समा ४ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष स्थानमा ओमानको पनि ४ अंक नै छ । तर, रनरेटमा ओमान शीर्ष स्थानमा रहेको हो । नेपालले सोमबार कतारविरुद्ध प्रतिस्पर्धा गर्दै छ । 

युएईलाई अन्तिम ओभरमा १० रन आवश्यक
अल अमेरात क्रिकेट मैदानमा युएईलाई अन्तिम ओभरमा १० रन आवश्यक थियो । नेपालका कप्तान रोहित पौडेलले अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीलाई बलिङ गर्न दिए । इनिङ्सको १९.३ ओभरमा युएईका परासरले छक्का प्रहार गर्दै खेल नेपालबाट खोस्ने प्रयास गरेका थिए । युएईलाई अन्तिम तीन ३ बलमा ३ रनै आवश्यक रह्यो । यो टी–२० आई फम्र्याटमा सामान्यजस्तै हो ।

इनिङ्सको १९.४ ओभरमा दीपेन्द्रले परासरलाई ३२ रनमा सन्दीप जोराबाट क्याच आउट पारे । इनिङ्सको १९.५ ओभरमा हैदरलाई जोराले रनआउट गरे । इनिङ्सकै अन्तिम बलमा जाहिद अली २ रन लिने प्रयासमा रनआउट हुँदा नेपालले युएईमाथि सनसनी रूपमा १ रनको जित निकाल्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह नै म्यान अफ दी म्याच भए । उनले चार ओभरमा २२ रन दिएर तीन विकेट लिए । 

दीपेन्द्रले लिए सराफुको महत्वपूर्ण विकेट 
तेस्रो क्रममा ब्याटिङ गरेका अलिसान सराफु क्रिजमा रहँदा नेपाल दबाबमै थियो । सराफु आवश्यक रनरेटअनुसार ब्याटिङ गर्दै नेपाली बलरमाथि हाबी भइरहे । इनिङ्सको १३औँ ओभरमा दीपेन्द्रसिंहले बलिङ गरेका थिए । सराफुले स्विप गर्ने चक्करमा दीपेन्द्रसिंहबाट क्लिन बोल्ड भए । उनी क्लिन बोल्ड हुँदा नेपाल खेलमा फर्कियो ।

सराफुले ४० बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै सर्वाधिक ५८ रन बनाए ।  युएईका ओपनर जोनाथन फिगीले २९ बलमा १९ रन बनाए । दोस्रो विकेटका लागि जोनाथन र एलिसानबिच ५७ बलमा सर्वाधिक ८१ रनको साझेदारी भएको थियो । नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिएका थिए ।

आसिफको १०औँ अर्धशतक
नेपालको पहिलो ब्याटिङमा ओपनर आसिफ शेखले १०औँ टी–२० अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४७ बलमा सर्वाधिक ५१ रनको योगदान दिए । यसक्रममा उनले चार चौका र एक छक्का प्रहार गरे । उनी ध्रुव परासरबाट बोल्ड भए । कुशल भुर्तेलले २६ बलमा समान दुई चौका र छक्कासहित २८ रन बनाए । नेपालले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो । कप्तान रोहित पौडेलले १९ बलमा एक चौकासहित २० रन जोडे । रोहित र आसिफबिच दोस्रो विकेटका ३९ रनको साझेदारी भएको थियो । बलियो प्रतिद्वन्द्वी युएईविरुद्ध नेपालको मध्यक्रम चल्न सकेन । नेपालले १५.६ ओभरमा तीन विकेट गुमाउँदा १०३ रन बनाएको थियो । बाँकी चार ओभरमा नेपालले ३७ रन जोडेको थियो । 

युएईले खेलमा मौका दियो
 रोहित पौडेल, कप्तान, नेपाल

युएईसामु १४१ रनको लक्ष्य ठुलो होइन । पहिलो ब्याटिङ गर्दा कम्तीमा १६० रन लक्ष्य दिने योजना थियो । पहिलो इनिङ्समा २० रनले पछि परेजस्तो लाग्छ । युएईका बलरले मध्यतिर रोकेका थिए । जसकारण पछि बाउन्ड्री खासै आएन । यद्यपि, बलिङमा लक्ष्य रक्षा गर्न सक्ने आत्मविश्वासी भएर बसेका थियौँ । प्रतिस्पर्धामा युएईले खेलमा फर्कने मौका दियो । हामी पनि यही मौकाको खोजीमा थियौँ । दीपेन्द्रसिंह दाजुले सधैँ फिल्डिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएको छ । आजको खेलमा पनि यस्तै भयो । युएईको दुई रनआउटले खेल नै परिवर्तन भयो । 

रनआउट नै हारको कारण बन्यो
 मुहमद वासिम, कप्तान, युएई

खेल निकै रोमाञ्चक बन्यो । नेपाललाई मध्यम योगफलमा रोक्यौँ । बलरहरूलाई यसको श्रेय दिन चाहन्छु । लक्ष्य पछ्याउँदा सबै राम्रो भइरहेको थियो । आवश्यक रनरेटअनुसार ब्याटिङ भइरहेको थियो । खेलको मध्यमा माइन्ड गेम खेल्न सकेनौँ । नेपाली बलरले उत्कृष्ट पुनरागमन गरेको भन्नुपर्छ । अन्तिम ओभरतिर एक वा दुई रन लिँदा खेल हाम्रो पक्षमा थियो, तर स्ट्रोक लगाउने ध्यानमा विकेट गुम्यो । अझ डेथ ओभरमा ब्याट्सम्यानहरू रनआउट हुनु नै युएईको हारको कारण बनेजस्तो लाग्छ । नेपालसँगको खेलमा सबैले मजा लिएको हुनुपर्छ । आगामी खेलमा सकारात्मक सोचका साथ प्रतिस्पर्धा हुनेछ । 

अझ उत्कृष्ट प्रदर्शन गर्छु
 दीपेन्द्रसिंह ऐरी, खेलाडी, नेपाल 

युएईमाथिको जितले खुसी छु । यस्तै प्रदर्शन भइरहँदा नेपाल विश्वकपमा पुग्नेछ । धेरैले फिल्डिङ र बलिङमा मैले उत्कृष्ट प्रदर्शन गरेको भनेका छन् । तर, पुराना खेलहरूको तुलनामा यो त्यति राम्रो होइन । अझ उत्कृष्ट प्रदर्शन गर्न बाँकी छ । आगामी दिनमा योभन्दा फरक खेल हुनेछ । सबै खेलमा राम्रो खेल्नुपर्छ । सहभागी कुनै पनि टोली सामान्य छैनन् । सबै बलिया छन् । यसकारण गल्ती नगरी खेल्नुपर्छ । 

सुझावित समाचार