रोमाञ्चक खेलमा नेपालले युएईलाई एक रनले हरायो

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण
रोमाञ्चक खेलमा नेपालले युएईलाई एक रनले हरायो

तस्बिर : क्रिकेट एसोसियसन नेपाल

नेपालले आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर–६ मा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई रोमाञ्चक खेलमा १ रनले पराजित गरेको छ। नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्रै बनायो।

आइतबार ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। प्रशिक्षक स्टुवार्टले तेस्रो खेलमा पनि कुनै खेलाडी परिवर्तन गरेनन्।  अन्तिम ओभरमा युएईलाई खेल जित्न ९ रन चाहिएको थियो। बलिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी सफल देखिए। अन्तिम ओभरमा नेपालले तीन विकेट लिएको थियो।

यसअघि नेपालको शीर्षक्रमका ब्याटरले सानदार प्रदर्शन गरे पनि मध्यक्रम भने चल्न सकेन। मध्यक्रम चल्न नसक्दा नेपाल युएईविरुद्ध ठुलो स्कोर बनाउन चुक्यो। दबाबमा आएको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै दुई अंक खोस्न सफल भएको छ। योसँगै सुपरसिक्समा नेपालले दुई अंक जोडेको छ। समग्रमा नेपालले ४ अंक जोडेको छ।

आज नै भएको सुपर सिक्सको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले पराजित गर्दै पहिलो दुई अंक जोडेको छ। समूह चरणमा दुबै खेल जितेपछि नेपालसहित युएई र ओमानले सुपर सिक्सको सुरुमै दुई जोडेका थिए।

नेपालले पहिलो खेलमा कुवेतलाई ५८ र दोस्रो खेलमा जापानलाई पाँच विकेटले हराएको थियो। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकप खेल्ने योजनामा छ। युएई पनि तेस्रो पटक विश्वकप खेल्ने योजनामा छ। समूहमा युएईले मलेसियालाई ६ विकेट तथा कतारलाई सात विकेटले पराजित गरेको थियो। सुपर सिक्समा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष तीनमा रहने टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने आइसिसी विश्वकप छनोटमा स्थान बनाउनेछन्।

अब, नेपालले सोमबार कतारसँग खेल्नेछ। 

अलिसान सराफुको अर्धशतक
दोस्रो इनिङमा युएईको लागि अलिसान सराफुले सर्वाधिक ५८ रन बनाएका थिए। २२ वर्षीय उनले ४० बलमा ३ चौका र पाँच छक्का प्रहार गरे। उनको यो करियरको १२औं अर्धशतक हो। तेस्रो नम्बर ब्याटिङमा आएका उनलाई दीपेन्द्रसिंह ऐरीले बोल्ड गरेका थिए। यसअघि ओपनर जोनाथन फिगीले २९ बलमा १९ रन जोडे। कप्तान मोहम्मद वासिमलाई तीन बलमा एक रन जोड्दा सोमपाल कामीले कुशल भुर्तेलबाट क्याचआउट गराएका थिए। दोस्रो विकेटको लागि जोनाथन र एलिसानबीच ५७ बलमा सर्वाधिक ८१ रनको साझेदारी भएको थियो। ध्रुप परासरले १८ बलमा ३२ रनको योगदान गरेका थिए। यसबाहेक राहुल चोपरा, हर्षित कौसिक, बसिल हमीदले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका दीपेन्द्रले सर्वाधिक तीन तथा सोमपाल कामी, सन्दीप लामिछाने र गुल्शन झाले एक विकेट लिएका थिए। दुई ओभर बलिङ गरेका ललित राजवंशी र ३ ओभर बलिङ गरेका नन्दन यादव विकेटविहीन भए। 

आसिफको अर्धशतक
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए। ४७ बलमा चार चौका र एक छक्का प्रहार गरेका आसिफलाई ध्रुव परासरले बोल्ड गरे। २४ वर्षीय ओपनरको टी–२० आईमा यो ११औं अर्धशतक हो। अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा समान दुई चौका र छक्कासहित २८ रन बनाए। हर्षित कौसिकको बलमा एलबिडब्लू धरापमा परेका कुशलले आसिफसँग पहिलो विकेटको लागि ५६ रनको बलियो साझेदारी गरेका थिए। कप्तान रोहित पौडेलले १९ बलमा एक चौकासहित २० रन जोडे। उनी रोहिद खानको बलिङमा वैकल्पिक खेलाडी मोहम्मद फारुकको हातबाट क्याचआउट भए। रोहित र आसिफबिच दोस्रो विकेटको लागि ३९ रनको साझेदारी भएको थियो।

चल्न सकेन नेपालको मध्यक्रम
बलियो प्रतिद्वन्दी युएईविरुद्ध नेपालको मध्यक्रम भने चल्न सकेन। शीर्ष क्रमका ब्याटरले उत्कृष्ट सुरुवात गरेका थिए। तर, मध्यक्रम चल्न नसक्दा नेपालले ठुलो स्कोर बनाउने अवसर पनि गुमाएको थियो। नेपालले १५.६ ओभरमा तीन विकेट गुमाउँदा एक सय ३ रन बनाएको थियो।

तर, बाँकी ४ ओभरमा मात्र ३७ रन जोडेको थियो। आशा गरिएको अलराउन्डरहरू उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, सन्दीप जोरा र सोमपाल कामी चल्नै सकेनन्। उपकप्तान दीपेन्द्रले दोहोरो अंकमा रन बनाउन सकेनन्। २ बलको सामना गरेका उनी मात्र १ रन बनाएर आउट भए। अर्को युवा आक्रामक ब्याटर कुशल मल्ल पनि ११ बलमा १० रन बनाएर आउट भएपछि नेपाल दबाबमा आएको थियो। अघिल्लो दुई खेलमा सानदार प्रदर्शन गरेका गुल्शन झा ५ बलमा दुई चौका र एक छक्कासहित १४ रन बनाएर आउट भए। सन्दीप चार बलमा चार रन तथा सोमपाल ६ बलमा ६ रन बनाएर अविजित रहेका थिए।

सुझावित समाचार