मुसहर समुदायका विद्यार्थीहरूलाई अध्ययनमा प्रोत्साहनका लागि सम्मान

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

आर्थिक र सामाजिक रूपले पछाडि पारिएको मुसहर समुदायका विद्यार्थीहरूलाई विभिन्न संकायको अध्ययनमा प्रोत्साहनका लागि सम्मान गरिएको छ। 

गरिबी, अभाव, विभिन्न सेवा सुविधाबाट वञ्चितीकरणमा पारिएका मुसहर समुदायबाट एसइई, कक्षा १२, स्नातक, स्नातकोत्तर तथा विभिन्न धारतर्फ प्राविधिक विषय उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सवरी कुटीमा शनिबार आयोजित विशेष कार्यक्रममा सप्तरी, सिराहा, धनुषा र सर्लाही जिल्लाअन्तर्गत विभिन्न पालिकाका स्नातकोत्तर तह उत्तीर्ण पाँच, स्नातक उत्तीर्ण ११, कक्षा १२ उत्तीर्ण २३ र एसइई उत्तीर्ण गरेका दुई सय १६ जना  मुसहर विद्यार्थीहरूलाई सम्मान गरिएको हो। 

मुसहर समुदायका अगुवा सिराहाको नवराजपुर मझौरा गाउँका बयोवृद्ध कपलेश्वर सदा, संघका अध्यक्ष चन्देश्वर सदा, देवनारायण मण्डललगायतले विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरे। ‘पुस्तौँदखि जातीय विभेद, गरिबी, अन्याय र अशिक्षाको अँध्यारोमा बाँच्न बाध्य मुसहर समुदायको उत्थानमा जुटौँ’ भन्ने नारासहित नेपाल राष्ट्रिय मुसहर संघद्वारा आयोजित सम्मान कार्यक्रम ऋषिवंश एकता सेवा समाज नेपाल, सक्षम महिला, नेपाल राष्ट्रिय दिनाभद्री संघको सहयोगमा गरिएको दलित अधिकारकर्मीसमेत रहेका संघका प्रवक्ता सुनील सदाले जानकारी दिए। 

उनका अनुसार सम्मान कार्यक्रममा एसइई परीक्षा २०८१ उत्तीर्ण गरेकामध्ये सबैभन्दा बढी जिपिए ल्याएका एक-एकजना छात्रछात्रालाई पाँच हजार रुपैयाँका दरले नगद र प्रमाणपत्रसमेत प्रदान गरिएको छ। यो पल्ट छात्रातर्फ सबैभन्दा बढी ३.५९ जिपिए ल्याएकी सिराहाको मिर्चैया नगरपालिका ६ मटियर्वाकी अनामिका सदा र छात्रतर्फ ३.७० जिपिए ल्याएका धनुषाको मिथिला नगरपालिका ४ पुष्पवलपुरका कृष्णा सदालाई नगद, प्रमाणपत्रसहित सम्मान गरिएको उनले बताए।

 छात्रवृत्ति कोषबाट पढाइमा सहयोग

विभिन्न मनकारी व्यक्ति तथा मुसहर समुदायका अगुवाहरूको आर्थिक सहयोगमा करिब १० वर्षअघि सामाजिक संस्था ‘भोर’ को पहलमा स्थापना गरिएको दिनाभद्री छात्रवृत्ति कोषबाट विभिन्न जिल्लाबाट एसइई उत्तीर्ण गरेर थप अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको संघले जनाएको छ। 

संघका केन्द्रीय सदस्य महेन्द्र सदायका अनुसार छात्रवृत्ति कोषको सहयोगमा विभिन्न तहको अध्ययन पूरा गरेका गरेकामध्ये चारजना प्रहरीमा, ४९ जना विभिन्न गैरसरकारी संस्था तथा सामुदायिक र संस्थागत विद्यालय, उद्योग र वित्तीय संस्थामा कार्यरत रहेको भोरका पूर्वअध्यक्ष पचुलाल माझीले बताए।

गरिबीको कारणले पढ्न नसकेका १६ जना मुसहर विद्यार्थीहरूलाई वर्षेनी उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्दै आएको मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले जानकारी दिए। ‘विद्यार्थीले आफ्नो लक्ष्य यकिन गरी अनुशासित र कडा मिहेनतसहित अध्ययन गरी आफू, परिवार र समुदायका लागि आदर्श बन्न सकिन्छ,’ उनले भने, ‘सम्मानित विद्यार्थीहरूले त्यसलाई अर्जुनदृष्टि बनाउनुपर्छ।’ कार्यक्रममा संघका उपाध्यक्ष शिवा सदा, महासचिव रामस्वरूप सदा, बहादुर सदा, सिया सदा, सन्तोषकुमार सदा, तेजनारायण सदा, ऋषिवंश एकता सेवा समाजकी प्रमिला सदा, रामदयाल सदा, सक्षम महिलाकी अलिसका सदा, विजयकुमार सदालगायतको उपस्थिति थियो। 

राष्ट्रिय जगणना २०७८ अनुसार देशको सातवटै प्रदेशमा छरिएर बसोबास गरिरहेका मुसहर समुदायको जनसंख्या दुई लाख ६४ हजार नौ सय ७४ मध्ये मधेश प्रदेशमै एक लाख ७९ हजार एक सय ५३ जनसंख्या छ। नेपालमा पाँच वर्ष र सोभन्दा माथि मुसहर समुदायको साक्षरता प्रतिशत ३५.८ र सबैभन्दा बढी जनसंख्या रहेको मधेशमा ३०।४ प्रतिशत साक्षरता रहेको जनगणना प्रतिवेदनमा औँल्याइएको छ। 

सुझावित समाचार