‘टी–२० विश्वकप’ छनोट प्रक्रियामा नेपाली टोलीको प्रदर्शन कस्तो रह्यो ?
हामीले विश्वकप छनोटका सुरुका दुवै खेलमा जित निकालेका छौँ । दुवै खेल समग्रमा राम्रो थियो । तथापि, ब्याटिङ भने हामीले अपेक्षा गरेजस्तो राम्रो रहेन । बलिङ र फिल्डिङमा निकै राम्रो भएको छ । यसअघि वेष्ट इन्डिजसँग खेल्यौँ । भारत, पाकिस्तान, दक्षिण अफ्रिकाजस्ता देशसँग खेलिसकेको अनुभव भएर पनि हामीलाई सहज भएको छ ।
सुपर–६ को यात्रा कस्तो रहला ? कुन पक्षमा सुधार गर्नुपर्छ जस्तो लाग्छ ?
समूह चरणबाटै हामीले दुई अंक पाइसकेका छौँ । त्यसैले पनि हामीलाई सुपर–६ मा सहज हुन सक्छ । तर, हामीले ब्याटिङमा निकै मजबुत प्रदर्शन गर्न सक्नुपर्छ । बलिङ र फिल्डिङको अवस्था अहिले पनि ठिक छ । हामीलाई युएई र ओमानजस्ता टिमसँग गाह्रो हुन्छ । समग्रमा कुनै टिमलाई सहज लिनुहुँदैन । जापानजस्तो टिमले निकै राम्रो खेल्यो । एकजना खेलाडीले मात्र खेल जिताउन सक्दैन । तर्सिहाल्नुपर्ने अवस्था भने छैन ।
हामी विश्वकप खेल्न तयार छौँ ? टेस्ट राष्ट्रसँग खेल्न पहिला के–के कुरामा ध्यान दिनुपर्ला ?
मलाई लाग्छ, हामी सहजै विश्वकपमा स्थान बनाउनेछौँ । एक त यो छनोट प्रक्रिया पहिलाको भन्दा सहज छ । यसपटकको क्रिकेट विश्वकप दक्षिण एसियाली देशहरू श्रीलंका र भारतमा हुँदै छ । त्यसैले हामी छनोट भइहाल्यौँ भने लगत्तै भारतमा धेरैभन्दा धेरै मैत्रीपूर्ण खेल खेल्नुपर्ने हुन्छ । त्यहाँको वातावरणले हामीलाई धेरै फाइदा गर्छ ।