महाधिवेशन मिति विवादले दुई दिन सर्‍यो कांग्रेस केन्द्रीय समिति

मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा इतर समूह, प्रतिवादमा संस्थापन

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

कांग्रेस संस्थापन र इतरसमूहका नेताबिच आगामी महाधिवेशनको मितिमा सहमति जुट्न नसकेपछि केन्द्रीय कार्य समिति बैठक दुई दिन पछि सरेको छ । आइतबार तय भएको बैठक मंगलबार सारिएको हो । मंगलबार बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापति सहभागी हुनेछन् । जेन–जी आन्दोलनपछि कांग्रेसमा नेतृत्व हस्तान्तरणको मुद्दा थप बलियोसाथ प्रवेश गरेको छ ।

कांग्रेसभित्र मंसिरमै नियमित महाधिवेशन गर्ने कि केही समय सार्ने भन्नेमा विवाद देखिएको छ । संस्थापन पक्ष विधि–प्रक्रिया पुर्‍याउँदा मंसिरमा महाधिवेशन गर्न समय नपुग्ने र केही समय सार्नुपर्ने पक्षमा छ भने इतरपक्ष मंसिरमै महाधिवेशन गर्नुपर्ने पक्षमा छ । मंसिरको सुनिश्चतता नभए विशेष महाधिवेशन गर्नुपर्ने इतरसमूहका नेताहरूको जोड छ ।

शनिबार बसेको कार्यसम्पादन परामर्श समिति बैठकमा संस्थापन पक्षका नेताले केही समय सारेरै भए पनि विधि र प्रक्रिया पुर्‍याएरै महाधिवेशन गर्नुपर्ने बताएका थिए । तर, इतरपक्षका नेताले भने जसरी पनि मंसिरमै महाधिवेशन हुनुपर्ने अडान लिएका थिए ।

कांग्रेसमा संस्थापन पक्षका नेता विधानले दिएको सुविधाअनुसार महाधिवेशन सार्ने पक्षमा छन् । विधानअनुसार एक वर्षसम्म म्याद थप्न पाइने भएकाले संस्थापन पक्षका नेता मंसिरमा महाधिवेशन गर्न समय नपुगेर केही समय थप्नुपर्ने पक्षमा छन् । इतरपक्ष भने मंसिरमै महाधिवेशन हुनुपर्ने अडानमा छ । कांग्रेस केन्द्रीय कार्य समितिको चारवर्षे कार्यवधि आगामी मंसिरमा सकिँदै छ ।

‘महाधिवेशन विधिसम्मत, प्रक्रियासम्मत र नयाँ परिस्थितिअनुसार युवासहित सबैको सहभागितामा गर्नुपर्नेछ । हामी सबै छोटो समयमै महाधिवेशन होस् भन्ने चाहन्छौँ । तर, व्यावहारिक समय के हुन सक्छ भन्नेमा हामी अझै निष्कर्षमा पुग्न सकेका छैनौँ,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘सहमतिमै निर्णयमा पुग्न केन्द्रीय कार्य समिति बैठक दुई दिनपछाडि सार्ने निर्णय भएको छ । सँगसँगै जति पनि राजनीतिक विषयवस्तु र मुद्दा छन्, त्यसमा पनि पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न सकौँ भनेर बैठक सार्ने भनेका हौँ ।’ 

प्रवक्ता महतले केन्द्रीय कार्य समिति बैठकले विवादित विषय टुंगाउने र पार्टीको धारणा समान बताउने बताए । ‘जति पनि विषयमा छलफल र निर्णय गर्नुपर्नेछ । त्यसलाई केन्द्रीय समितिमा छलफल गरेर निष्कर्षमा जाँदा एकजुट भएर पार्टीलाई परिचालन गर्ने ठाउँमा पुग्न सक्छौँ,’ उनले भने । उनका अनुसार केन्द्रीय समिति बैठकअघि आइतबार र सोमबार औपचारिक–अनौपचारिक छलफल हुनेछन् । ‘कार्यसम्पादनका साथीहरू भोलि पनि बस्छौँ । सभापतिसँग पनि छलफल हुन्छ । एजेन्डासहित केन्द्रीय समिति बैठकमा जान्छौँ,’ महतले भने ।

कांग्रेस महामन्त्री गगन थापाले भने मंसिरमै महाधिवेशन हुनुपर्ने अडान राखेका छन् । उनले कार्यसमितिको म्याद थप्ने प्रस्ताव आफूले बैठकमा नलाने मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने बताए । ‘यो कार्यसमितिको म्याद थप्ने प्रस्ताव म लैजान्नँ,’ थापाले भनेका छन् ‘मंसिरमा नियमित महाधिवेशन हुनुपर्छ, नभए विशेष महाधिवेशन हुन्छ ।’ 

वडा अधिवेशन गरेर क्षेत्रीय प्रतिनिधि चयन गर्ने र क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिवेदन निर्वाचित गरेर महाधिवेशनमा जान सकिने संस्थापन इतरपक्षको दाबी छ । त्यसरी जाँदा मंसिरमा महाधिवेशन गर्न सकिने उनीहरू बताउँछन् । ‘वडा अधिवेशन तत्काल आह्वान गरेर क्षेत्रीय प्रतिनिधि चयन गर्ने र क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधि चयन गरेर जान सकिन्छ । त्यसरी जाने कार्यतालिकासहित अगाडि बढ्यौँ भने मंसिरमा नियमित महाधिवेशन हुन सक्छ,’ नेता गुरुराज घिमिरेले भने । विशेष महाधिवेश गर्दा भने अहिलेकै महाधिवेशन प्रतिनिधि कायम रहन्छन् ।

कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय कार्यसमिति तत्काल विघटन गरी कार्यवाहक अध्यक्ष तोकेर महाधिवेशनमा जान सुझाव दिएका छन् । पार्टी कार्यालय सानेपामा शनिबार पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यवाहक सभापति तोक्न सुझाव दिएका हुन् । ‘नियमित महाधिवेशन गर्नुपर्छ । त्यसका लागि वर्तमान केन्द्रीय कार्यसमिति विघटन गरेर एकजनालाई कार्यवाहक सभापति दिनुस् भनेर सभापतिलाई भनेको छु,’ उनले भने, ‘कार्यवाहक सभापतिले आवश्यक समिति, उपसमिति गठन गरेर मंसिरमा महाधिवेशनको वातावरण बनाउँछ ।’

कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीमा युवा सहभागिता बढाउन कोटाको व्यवस्था गर्नुपर्ने बताएका छन् । ‘विधानमा हालसम्म युवालाई निश्चित कोटा छुट्याइएको छैन । महिला, जनजाति, मधेशीलगायत जस्तै अब युवाको कोटा छुट्याएर जानुपर्छ,’ उनले भने । पार्टीमा युवा सहभागिताको माग गर्दै सानेपामा भेला कांग्रेसका युवा नेता तथा कार्यकर्तासँग गुरुङले युवाको मागलाई सम्बोधन गरेर जाने बताए । उनीहरूले पार्टीको युवाको प्रतिनिधित्व ग्यारेन्टीको माग गरेका थिए ।

नेता अर्जुननरसिंह केसीले यथास्थितिमा कांग्रेस जनतामा जान नसक्ने बताएका छन् । युवा पिँढीको धारणा प्रतिनिधित्व गर्न नसके जनताको बिचमा स्थापित हुन नसक्ने उनले बताए । ‘युवा पिँढीको धारणा प्रतिनिधित्व गर्न सकेनौँ भने हामी वास्तवमा जनताको बिचमा स्थापित हुन सक्दैनौँ । अहिलेको विधि, पद्धति र अनुहार लिएर हामी जनताको बिचमा जान सक्दैनौँ । यसमा व्यापक परिवर्तन जरुरी छ । केन्द्रीय कार्य समिति बैठकमा यो विषय उठाउँछु,’ उनले भने ।

बागलुङका ३४ प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा
बागलुङ/
कांग्रेस बागलुङका ३४ जना महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । कांग्रेस महासमिति सदस्य जगदीशचन्द्र उपाध्यायका अनुसार बागलुङका दुईवटै प्रतिनिधिसभा क्षेत्रका ३४ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर केन्द्रीय पार्टी कार्यालयमा बुझाइएको छ । नेता उपाध्यायको नेतृत्वमा महाधिवेशन प्रतिनिधिहरू चिरञ्जीवी गौतम, प्रकाश आचार्य र कांग्रेस बागलुङ नगरपालिका सभापति एवं तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मासहितको टोलीले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर विवरण बुझाएका हुन् । जिल्ला तहबाट हस्ताक्षर संकलन गरिएको विवरण पार्टी केन्द्रीय कार्यालयमा बुझाएका हुन् ।

बागलुङबाट विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट नेता उपाध्यायसहित पूर्वसभापति हरिप्रसाद श्रेष्ठ, हरिहर शर्मा, डिल्लीराम सुवेदी, शकुन्तला शर्मा, कल्पना हमाल पाठक, चिरञ्जीवी गौतम, प्रकाश आचार्य, भीम श्रीष, सीताराम रसाइली, उमाकान्त शर्मा पौडेल, कमला पराजुली, दुर्गादेवी विक, जगुपति कँडेल, प्रेम छन्त्याल, ओमकार थापा, भगवती सापकोटा, बेमकुमारी थापा, राजु थापा, टोपबहादुर मल्ल र टंकप्रसाद शर्मा कँडेललगायत छन् ।

सानेपामा कांग्रेस युवाको धर्ना
कांग्रेसका विभागमा अनिवार्य ४० प्रतिशत युवाको प्रतिनिधित्व माग गर्दै कांग्रेसका युवाहरूले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् । हरेक पदमा, हरेक निर्वाचनमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, युवाको प्रतिनिधित्व सुनिश्चित गर्न विधान संशोधन गर्नुपर्ने, परिमार्जनविनाको महाधिवेशन अमान्य हुनेलगायतका माग युवाको छ । उनीहरूले पार्टीमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्न विधान संशोधन गर्नुपर्ने र सबै तहका निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउने व्यवस्था विधानमै गर्न माग गरेका छन् । जेन–जी उमेर समूहका २५ प्रतिशत क्रियाशील सदस्य पुर्‍याउनुपर्ने माग पनि उनीहरूको छ । निवर्तमान समितिका सभापति, पदाधिकारी तथा सदस्यसमेत स्वत: महाधिवेशन प्रतिनिधिका रूपमा आउने व्यवस्थाको अन्त्य गर्न पनि उनीहरूले माग गरेका छन् । धर्नामा सहभागी युवा नेता आकाश उप्रेतीका अनुसार युवाको प्रतिनिधित्व सुनिश्चित गरी प्रविधिमैत्री पार्टी बनाउनुपर्ने माग गरिएको छ ।

सुझावित समाचार