एएफसी यू–१७ महिला एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय टिम थाइल्यान्ड पुगेको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेपछि नेपाली टिम राति नै थाइल्यान्ड पुगेको थियो ।
नेपाली टिमलाई अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले विदाई गरेका थिए । समूह ‘एफ’मा रहेको नेपालले अक्टोबर १५ मा तुर्किमिनिस्तान र १७ मा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउन्ड रोबिन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एसियन कपको १०औँ संस्करणमा स्थान बनाउनेछ ।
नेपाली टोलीको गोलकिपरमा झरना डुम्राकोटी, लक्ष्मी ओली र भूपिका शाही छन् । डिफेन्डरमा दीक्षा रायमाझी, अलिजा कुमारी बिक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मीनमाया श्रेष्ठ र अन्सु विक छन् ।
यता, रविना विक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बू, बबतिका कार्की, कप्तान भूमिका बुढाथोकी, आयुषा रेउले र सिर्जना बडुवालले मिडफिल्डरको जिम्मेवारी पाएका छन् । नेपाली टिमको अग्रपंक्तिमा अस्मिता मगर, पूजा गिरी, यमकुमारी विक, अनिता रानामगर छन् । प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाली टिम फाइनल चरणमा पुग्ने बताएका छन् ।