प्रेरक प्रसंग : सुगाको बोली

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

एकपटक एक राजा आफ्ना सहयोगीका साथ जंगलमा सिकार खेल्न गए । सिकार नभेटिएपछि उनी जंगलको निकै भित्री भागसम्म पुगे । जंगलमा राजालाई देख्नासाथ अचानक त्यहाँ नजिकैको एउटा रुखमा बसेको सुगाले चिच्याउँदै भन्यो– साथीहरू राजा आइरहेको छ । योसँगै धेरै धन छ । यसलाई उम्किन नदेओ । आओ, लुट । राजा भाग्न नपाओस् । 

सुगाको आवाज सुनेपछि जंगलको चारैतिरबाट डाकुहरूको समूह हातहातमा हतियार बोकेर राजा भएको ठाउँतिर अगाडि बढे । राजाले आफ्नो सानो समूहले त्यहाँका डाँकुसित लड्नु सम्भव देखेनन् । त्यसैले, उनी जसोतसो गरेर त्यहाँबाट ज्यान जोगाएर भाग्न सफल भए । 

भाग्दाभाग्दा राजा र उनको समूह डाकुहरूको समूहबाट निकै टाढा पुग्यो । थकित राजा एउटा रुखको फेदमा एकैछिन सुस्ताए । उनी रुखको शीतल छायामा बस्नासाथ रुखमा बसेको एक सुगाले बडो मधुर स्वरमा भन्यो– आउनुहोस् महाराज ! हाम्रा साधु महाराजको कुटीमा हजुरलाई स्वागत छ । भित्र आउनुहोस्, चिसो पानी पिउनुहोस् र विश्राम गर्नुहोस् । 

दोस्रो सुगाको बोली सुनेर छक्क परेका राजा साधुको कुटीमा गए र साधुलाई प्रणाम गरेर आफूमाथि घटेका सबै घटना सुनाए । उनले साधुसित प्रश्न गरे– हे साधु महाराज ! यी दुवै सुगाको व्यवहार र बोलीमा किन यति ठुलो अन्तर ?

साधुले शान्त हुँदै भने– महाराज ! यो सबै संगतको प्रभाव हो । पहिलो सुगा डाँकुहरूको संगतमा हुर्किएको हुनाले उसले डाँकुहरूकै भाषा बोल्यो । दोस्रो सुगाले आश्रममा आउने साधु, महात्मा र ऋषिहरूको संगत पायो । त्यसैले उसले उनीहरूकै भाषा बोल्यो । हे महाराज ! हरेक प्राणीको जीवनमा संगतको निकै ठुलो प्रभाव परेको हुन्छ । त्यसैले, हामी सबैले खराब संगतबाट टाढै बस्नुपर्छ ।

सुझावित समाचार