इन्टरनेट र एआईका बारेमा २० देशका विज्ञहरूको चारदिने छलफल सम्पन्न

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

इन्टरनेट र एआईका विविध विषयमा २० देशका विज्ञहरूले नेपालमा भेला भएर चार दिनसम्म छलफल चलाएका छन्। इन्टरनेटको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सद्वारा आयोजित ‘एपिसिग २०२५’ नाम दिएको सम्मेलन यही २१ देखि २४ असोजसम्म भएको आयोजक संस्थाका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए। 

सम्मेलनमा १६ चरणमा छलफल कार्यक्रम भएका थिए भने २२ विज्ञ वक्ताहरूको विषयगत प्रस्तुति रहेको थियो। सम्मेलनमा १६ देशका सरकारी अधिकारी, सूचना प्रविधिविज्ञ, प्राध्यापक, पत्रकार, वकिल, अधिकारकर्मी, अनुसन्धानकर्तालगायतका ३४ फेलोहरू सहभागी भएको उपाध्यक्ष वाकास हसनले जानकारी दिए। 

सम्मेलनमा विषयविज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, अभ्यासकर्ता र पैरवीकर्ताहरूले इन्टरनेटको सही र जिम्मेवार प्रयोग, यसको नियमन तथा व्यवस्थापन, एआईको प्रयोगले भविष्यमा ल्याउन सक्ने अवसर र चुनौती तथा त्यसको व्यवस्थापन, साइबर सुरक्षा, तथ्यांक सुरक्षा, सामाजिक सञ्जालहरूको प्रयोग, व्यवस्थापन र नियमन, भ्रामक र प्रायोजित सूचनाको विकृति, इन्टरनेटमा पछाडि पारिएका समुदायको पर्याप्त पहुँच र प्रयोगलगायतका विषयमा गहन प्रस्तुति रहेको र सहभागीहरूका बिचमा व्यापक छलफल भएको सम्मेलनमा नेपालको तर्फबाट सहभागी पत्रकार जीवन भण्डारीले जानकारी दिए।

सम्मेलनमा सहभागीहरूले अन्य देशमा भइरहेका अभ्यास र अनुभवका आधारमा धेरै सिकाइ भएको पाकिस्तानकी सहभागी मार्यम रसिदले बताए। सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, म्यानमार, मलेसिया, भुटान, यमन, मंगोलिया, पाकिस्तान, कम्बोडिया, इन्डोनेसिया, काजकिस्तान, सिंगापुर फिलिपिन्स, भियतनाम, अस्ट्रेलिया, जापानलगायतका २० भन्दा बढी देशका फेलो तथा वक्ताहरू सहभागी भएको आतिथ्य संस्था इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटकी निर्देशक सपना शाहीले जानकारी दिए। 

सहभागीहरूलाई समापन समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सका अध्यक्ष बाबुराम अर्यालले प्रमाणपत्र प्रदान गरेका थियो।

सुझावित समाचार