‘मैझारो’प्रचारप्रसारमा ताते तक्मे,पूर्वका विभिन्न सहरमा सांगीतिक प्रस्तुति,अटोदेखि इ-रिक्सासम्म फिल्मकै पोस्टर

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

कातिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को प्रचारप्रसार व्यापक रूपमा गर्न थालिएको छ। निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो। यसै सिलसिलामा पूर्वका विभिन्न सहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। यति वेला पूर्वका अधिकांश इ–रिक्साका साथै अटो मैझारो मय भएको देखिन्छ। जताततै अटोमा मैझारोका फ्लेसहरु झुन्डिएकाे छ।

गायक तथा हास्य कलाकारसमेत रहेका फिल्मका निर्देशक तथा निर्माता विल्सनविक्रम राईले आफ्नो फिल्मलाई दर्शकमाझ पुर्याउन कसिएर लागेका छन्। उनी आफ्नै सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई हँसाउदै सांगीतिक धमाका दिँदै छन्। उनीसँग राई इज किङ गायक राजेशपायल राई,संगीतकार तथा गायक अनमोल गुरुङका साथै फिल्मका मुख्य कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। हिजो बिहीबार धरानमा फिल्मको प्रचारका रूपमा व्यापक कन्सर्टको आयोजना गरिएको थियो। जहाँ हजारौँ धरानवासी दर्शकको उपस्थिति रहेको थियो।

आज आफ्नै गृह जिल्लामा यस फिल्मका निर्देशक विल्सन विक्रम राईको टिमले सांगीतिक प्रस्तुति दिदै छ। असोज २५ गते बिर्तामोडको मुक्ती चोकमा कार्यक्रम हुनेछ। निर्माण पक्षले झापाको बिर्तामोड,दमक,मोरङको बेलबारी,सुनसरीको इटहरी,धरानमा सांगीतिक कार्यक्रमको आयोजना गरेको हो। सोहीक्रममा आज बिर्तामोडमा कार्यक्रम हुन लागेको निर्देशक राईले बताए।

‘फिल्म मैझारोको व्यापक प्रचारमा लागेका छौँ,’उनले भने,‘दर्शकलाई मनोरञ्जनका साथै फिल्म हलमा लाग्न लागेको जानकारी दिनका लागि यो कार्यक्रमको आयोजना गरेका हौँ। यो नौलो तरिका पनि हो।’

यसअघि यो फिल्मको प्रचारसामाग्री पोस्टर, दुईवटा गीत र टिजरले दर्शकको मन जिति सकेको छ। तर निर्देशक यतिप्रसारमा नपुग्ने भन्दै उनी सांगितिक कार्यक्रममार्फत आफ्नो फिल्मलाई दर्शकमाझ पुर्याउन होमिएका हुन्। उनको यो डेब्यु निर्देशन पनि हो। त्यसैले उनी प्रचारप्रसारमा कुनै कसुर नराख्ने बिचारमा छन्।

निर्देशक राईकै लगानी र लेखन रहेको यस फिल्मले मौलिक प्रेम कथालाई बोल्ने छ। फिल्ममा धिरज मगर,मिरुना मगर,दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन्। गायनमा राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ। सौरभ लामाले खिचेको यो फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

सुझावित समाचार