मिर्गौला बिग्रिएर बाँच्ने आशासमेत त्यागिसकेका कैयौँ बिरामीलाई भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नयाँ जीवन दिएको छ । उनीहरूको जीवन भोगाइ र उपचारको कथाले बोल्छ– जीवन अमूल्य छ । अहिले पनि कैयौँ बिरामी नयाँ जीवन पाउने आशामा अस्पतालको दैलोमा प्रत्यारोपणको पालो पर्खिएर बसिरहेका छन् । सबै प्रक्रिया मिल्यो भने त्यहाँ पुगेको दुई–तीन महिनामै केन्द्रले प्रत्यारोपण सम्पन्न गर्ने गरेको छ । कठिन अवस्थामा पनि मिर्गौला प्रत्यारोपण गरेर नयाँ जीवन पाएकाहरूको जीवन भोगाइ साँच्चै प्रेरणादायी छ :
श्रीमतीको मिर्गौला अर्कैसँग साटेर नयाँ जीवन पाएका प्रदीप
रोजगारी सिलसिलामा रोमानिया पुगेका खोटाङ केपिलासगढीका प्रदीप राईलाई भदौ ०७९ मा स्वास्थ्यमा अप्रत्यासित समस्या देखियो । ०७७ मा बिचौलियालाई साढे तीन लाख बुझाएर रोमानिया पुगेका उनमा दुई वर्षमै जटिल स्वास्थ्य समस्या देखियो । विदेश गएको ऋण बल्ल तिरेर सकिएको थियो । अब केही पैसा बचाउँला र घर खर्च पठाउँला भन्ने योजना बनाउँदै थिए । अकस्मात उनको स्वास्थ्यमा प्रलय आइलाग्यो । नियमित भोमिटिङ हुने, हातगोडा सुन्निनेजस्ता लक्षण देखिए । भदौ ०७९ मा अस्पताल पुगेर जाँच गराउँदा रिपोर्ट अप्रत्यासित आयो । उनका दुवै मिर्गौलाले काम गर्न छाडेका थिए । अस्पतालबाट रिपोर्ट बोकेर फर्किएका उनी क्वार्टरको एक कोठामा निक्कैबेर भक्कानिए । कडा रोगले समात्यो । घर परिवार टाढा छन् । अब कसो गर्ने ? धेरै दिन निराशाको भुमरीमा परे । परदेशको ठाउँमा सम्हालिनुबाहेक उनीसँग विकल्प थिएन । एक महिना रोमानियाकै अस्पतालमा भर्ना भएर उपचारसमेत गराए । चारपटकजति डायलाइसिस पनि गरे । कामै गर्न नसक्ने भएपछि उनी असोज ०७९ मा स्वदेश फर्किए । असोज ०७९ मा उनी किस्ट अस्पतालमा पैसा तिरेर डायलाइसिस गर्न थाले । दुई महिनासम्म पैसा तिरेर डायलाइसिस गरे । यतिवेलासम्म डायलाइसिस गर्दा तीन लाख हाराहारी सकियो । डायलाइसिसकै भरमा बाँच्न कठिन हुने भएपछि उनले अब मिर्गौला प्रत्यारोपणको प्रक्रिया थाले । कात्तिक ०७९ मा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुगे । चिकित्सकसँग सल्लाह लिए । अस्पतालले डोनर ल्याउन सके छिटो प्रत्यारोपण हुने बतायो । त्यसपछि प्रदीप आफ्नै श्रीमतीबाट मिर्गौला लिने भन्दै स्वास्थ्य परीक्षण गराउन पुगे । श्रीमती मिर्गौला दिन तयार भइन् । दुर्भाग्य ! रक्त समूह मिलेन । अब प्रदीपलाई अर्को तनाव थपियो । दुई भाइ छोरा बच्चै छन् । बुबाआमा वृद्ध भइसके । श्रीमतीबाट मिर्गौला लिन रक्त समूह मिलेन । यसपछि आफन्तलाई पनि सोधे । मिर्गौला दिन कोही तयार भएन । अस्पतालले प्रदीपको जस्तै रक्त समूह नमिलेर रन्थिनिएका अर्को एक दम्पतीको सम्पर्क नम्बर उनलाई दियो । गोरखाका राजेन्द्र श्रेष्ठ पनि श्रीमती अञ्जली श्रेष्ठको मिर्गौला लिन रक्त समूह नमिलेपछि तनावमा थिए । अब दुवैको कथा मिल्यो । प्रदीपले राजेन्द्रलाई फोन गरे । रक्त समूह सोधे । प्रदीपको पत्नीको रक्त समूह राजेन्द्रसँग मिल्यो भने राजेन्द्रकी पत्नी अञ्जली श्रेष्ठको रक्त समूह प्रदीपसँग मिल्यो । दुवैतिरका परिवार मृर्गौला साटासाट गर्न तम्तयार भए । अन्तत: ४ चैत ०८१ मा राजेन्द्रकी श्रीमतीको मिर्गौला प्रदीपले लिए । हाल प्रदीपको परिवारले खोटाङ छाडिसकेको छ । प्रदीपकै उपचारका लागि परिवारका सबै सदस्यले थातथलो छाडेर ललितपुरको ठैबमा बस्दै आएका छन् ।
ब्रेनडेथ भएकाबाट मिर्गौला र कलेजो प्रत्यारोपण गराएका भाग्यमानी शिव
कसैको मृत्युले पनि कसैलाई नयाँ जीवन दिन सक्छ ? पढ्दा वा सुन्दा असहज लाग्ला । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा १ जेठ ०८२ मा एउटा अनौठो प्रकारको प्रत्यारोपण सफल भयो । नेपालमै पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजोे एकै व्यक्तिमा सफल प्रत्यारोपण गरियो । दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवाको अंगले हेटौँडाका शिव महर्जनले नयाँ जीवन पाए । उनको दुईवटा महत्वपूर्ण अंग (मिर्गौला र कलेजो) फेल भएका थिए । एउटा अंगसमेत फेर्न कठिन हुने र नमिल्ने अवस्थामा शिवको जीवनमा भने एउटा यस्तो क्षण आयो, कलेजो र मिर्गौला एकैसाथ प्रत्यारोपण भयो, त्यो पनि ब्रेनडेथबाट आएको अंग राखेर । यसलाई प्रत्यारोपण मात्रै नभएर चिकित्सा विज्ञानको प्रगतिसमेत मान्न सकिन्छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा १० भन्दा बढी विशेषज्ञ चिकित्सकको समर्पित टिमले असम्भवजस्तो देखिने कार्यलाई सम्भव पारेको थियो । आठ वर्षदेखि अंग फेल भएर थलिएका शिवलाई यसरी दुवै अंग प्रत्यारोपण होला र जीवन जिउन पाउँला भन्ने आशा टुट्न लागेको थियो । जीवन यत्ति हो भन्ने उनको मनमगजमा थियो । शिव एक वर्षदेखि प्रत्यारोपण केन्द्रमै डायलाइसिस गराउँदै आइरहेका थिए । आफन्तबाट अंग पाउन नसकेका उनी दिनदिनै निराश हुँदै गएका थिए । तर, १८ वर्षीय एक युवकको जीवन सडक दुर्घटनामा अस्ताएपछि ती युवकका दुईवटा अंग शिव महर्जनले पाए । काठमाडौं मेडिकल कलेज सिनामंगलमा मस्तिष्क मृत्यु भइसकेपछि उनको परिवारसँग केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको टिमले बिन्ती गरेर अंगदान गर्न आग्रह गरेका थिए । आफन्तहरू सहमत भएपछि हेटौँडाका शिवले कलेजो र मिर्गौला पाए । हाल उनी घरमै आराम गरिरहेका छन् भने समय–समयमा फलोअपमा आउने गर्छन् । ‘मलाई पत्यार नै लागेको थिएन, मेरो जीवनमा यति खुसी आउला भनेर । तर, प्रत्यारोपणपछि मैले नयाँ जीवन पाएँ, दुवै अंग बिग्रिएपछि अब त बाँचिँदैन होला भन्ने लागेको थियो, तर अस्पताल र चिकित्सकले मेरा लागि नयाँ जीवन दिनुभयो,’ उनले भने ।
श्रीमतीको मिर्गौलाबाट बाँचे इन्द्र
मोरङ बेलबारी नगरपालिका–१ का ४१ वर्षीय इन्द्रप्रसाद सुवेदीको मिर्गौलाले जेठ ०८० देखि काम गर्न छाड्यो । उनले सुरुका दुई महिनासम्म मिर्गौला रिकभर होला भनेर औषधी खाए । तर, निको भएन । विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराउन जाँदा मिर्गौला बिग्रिएको पुष्टि भएपछि उनले दुई महिना नोबल मेडिकल कलेजमा डायलाइसिस गराए । पैसा तिरितिरी डायलाइसिस साध्य भएन । सधैँ डायलाइसिसको भरमा कतिन्जेल बाँच्ने ? पारिवारिक सरसल्लाह गरेर उनी प्रत्यारोपण गर्ने सोचसहित काठमाडौं हानिए । मिर्गौला दिन उनी श्रीमती चन्दा सुवेदी तयार भइन् । उनी सुरुमा काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारका लागि पुगे । करिब ६ महिना केएमसीमा धाए । यतिवेलासम्म प्रत्यारोपण गराउनेसमेत पैसा भएन । पारिवारिक सल्लाहअनुसार उनी भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र पुगे । केन्द्र गएको छोटो समयमै उनको प्रत्यारोपण प्रक्रिया अघि बढ्यो ।
डा. पुकार श्रेष्ठको नेतृत्वको टिमले २७ चैत ०८१ मा उनलाई मिर्गौला प्रत्यारोपण गर्यो । ‘निजीमा जाँच गराउँदा–गराउँदै प्रत्यारोपणको पैसा सकियो, त्यसपछि केन्द्रमा आएँ, त्यहाँ धेरै खर्च लागेन, औषधीमा लाग्ने खर्च त तिर्नैपर्यो’ मिर्गौला प्रत्यारोपणपछि भक्तपुर दुधपाटी क्षेत्रमा डेरा लिएर बसेका सुवेदीले सुनाए, ‘श्रीमतीसँग रक्त समूह नमिलेको भए सायद प्रत्यारोपण कठिन हुने थियो, तर अस्पतालले छिटो र विनापैसा पनि प्रत्यारोपण गरिदियो ।’ इलेक्ट्रिसियनको काम गर्ने उनी मोरङमै बस्थे । तर, अंग प्रत्यारोपणपछि भने उनी भक्तपुरमै बस्दै आइरहेका छन् ।
७६ वर्षकी आमा बनिन् अंगदाता
आमा केवल जन्मदाता मात्रै होइनन्, सन्तानलाई समस्या परेका वेला जे पनि त्याग्न तयार हुन्छिन् । अर्घाखाँची शीतगंगाका ३६ वर्षीय टीकाराम बेल्बासेका लागि आमा एकपटक जन्मदाता र अर्कोपटक अंगदाता बनिन् । छोरा टीकारामको दुवै मिर्गौला फेल भएपछि ७६ वर्षीया उमादेवी बेल्बासेले १ वैशाख ०८२ मा मिर्गौला दिइन् । आफ्नै जीवन दाउमा राखेर उमादेवीले दिएको मिर्गौलाले टीकारामलाई नयाँ जीवन दियो । टीकाराम आमाले दुईपटक जीवन दिएको महससु गर्दै भन्छन्, ‘आमा नभएको भए मेरो दोस्रो जन्म असम्भव थियो ।’ टीकारामका दुवै मिर्गौलाले चैत ०७८ देखि काम गर्न छाडेका थिए । प्रादेशिक अस्पताल, बुटवलमा परीक्षण गर्दा मिर्गौला फेल भएको पुष्टि भएपछि उनी उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा आइपुगे । आफन्तको सल्लाहमा उनले मिर्गौला प्रत्यारोपण योजना बनाए । उनलाई मिर्गौला दिन श्रीमती तयार थिइन् । तर, रक्त समूह मिलेन । क्रसम्याच नगरेपछि उनी भौँतारिए । घरका अन्य सदस्यसँग पनि रक्त समूह मिलेन । ७६ वर्षीया आमा उमादेवी बेल्बासेसँग भने रक्त समूह मिल्यो । तर, उमेर वृद्ध भइसकेकाले आमाको स्वास्थ्यमा समस्या आउने भन्दै आमालाई डोनर मान्न अस्पताल तयार भएन । तर, आमाको नागरिकतामा कम उमेर भएको र अन्य स्वास्थ्यमा समस्या नदेखिएको बारे बिरामी पक्षले विश्वस्त पारेपछि अस्पताल तयार भयो । बेल्बासेले सुरुमा त्रिवि शिक्षण अस्पतालमै मिर्गौला प्रत्यारोपण गर्ने सोच बनाएका थिए । तर, अस्तव्यस्त, महँगो र डायलाइसिसका लागि समेत पालो पाउन कठिन हुने देखेपछि उनी आफन्तको सल्लाहअनुसार भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा पुगे । ‘सुरुमा त परीक्षणमा धेरै समय लाग्यो, अझ श्रीमतीको रक्त समूह मिलेन, विरक्त लागेर गाउँ बसौँ भन्ने लाग्यो । तर, जसरी पनि प्रत्यारोपण गर्नैपर्ने थियो, केन्द्रमा आएपछि भने यहाँको सजिलो सिस्टमले सहज बनायो, यहाँ परीक्षण गर्दा के–के गर्ने र कसरी गर्ने भनेर स्पष्ट रूपमा चिकित्सकले नै सहयोग गर्नुभयो,’ बेल्बासेले सुनाए । अंग प्रत्यारोपणपछि उनी अहिले अर्घाखाँची फर्किएका छन् ।
बुबाको मिर्गौलाले नयाँ जीवन पाएकी पुष्पा
रोल्पा खुमेलकी २८ वर्षीया पुष्पा गुरुङको पाँच वर्षअघिदेखि नै दुवै मिर्गौलाले काम गर्न छाडे । जिल्ला अस्पताल रोल्पामा काम गर्ने उनको त्यहीँ डेलिभरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि मिर्गौला बिग्रिए । जिल्ला अस्पतालबाट प्रादेशिक अस्पताल दाङ ल्याएर चेकजाँच गराउँदा मिर्गौला फेल भएको पुष्टि भएपछि उनले पाँच वर्षसम्म दाङमै डायलाइसिस गरिन् । तर, कतिन्जेल डायलाइसिसको भरमा बाँच्ने ? शरीर झन्–झन् गल्न थाल्यो । मिर्गौला प्रत्यारोपणका लागि उनी त्रिवि शिक्षण अस्पतालमा आइपुगिन् । त्यहाँ उनले आफू र डोनर आमाको परीक्षण गरिन् । तर, रक्त समूह मिलेन । आफन्तकै सल्लाहअनुसार प्रत्यारोपण र अन्य परीक्षणमा सहज हुन्छ भन्ने सुनेपछि उनी भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुगिन् । पुस ०८२ मा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आएकी थिइन् । आएको छोटो समयमै मिर्गौला प्रत्यारोपण गर्ने पालो आयो । अन्तमा बुबा धर्मराज गुरुङको भने रक्त समूह मिल्यो । गत १५ जेठमा उनको प्रत्यारोपण सफल भयो । ‘गत पुसमा केन्द्रमा आएकी थिएँ, छोटो समयमै प्रत्यारोपण गरिदिनुभयो, तर त्यसभन्दा अघि रक्त समूह नमिलेर निकै कठिन भएको थियो,’ उनले सुनाइन्, ‘केन्द्रमा आउनुअघि थुप्रै अस्पतालमा परीक्षण गर्दा धेरै खर्च भयो, यहाँ आएपछि भने सहज भयो ।’ हाल उनको परिवार भक्तपुर दुधपाटीमै बस्दै आइरहेको छ । उपचारपछि समय–समयमा फलोअपमा जानुपर्ने भएपछि परिवारका सदस्य अस्पतालनजिकै डेरा लिएर बस्न थालेका हुन् ।
वैदेशिक रोजगारीमा रहँदा मिर्गौला बिग्रियो, बुबाको मिर्गौलाले नयाँ जीवन
रोजगारीका लागि साउदी पुगेको काभ्रेपलाञ्चोक धुलिखेलका ३१ वर्षीय राजकुमार लामाको एक वर्षअघि दुवै मिर्गौला फेल भए । उनको वैदेशिक रोजगारको यात्रामै ठक्कर लाग्यो । नौ वर्षदेखि साउदीमा काम गर्दै आइरहेका उनको असोज ०८१ असोजमा अचानक मिर्र्गौला फेल भयो । उच्च रक्तचापका कारण मिर्गौला फेल भएको रहेछ । मिर्गौला फेल भएपछि उनीसँग स्वदेश फर्किनुबाहेक अन्य विकल्प भएन ।
कात्तिक ०८१ मा नेपाल फर्किएका उनी मंसिर ०८२ मा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपणका लागि पुगे । उनलाई बुबा रामबहादुर लामा मिर्गौला दिन तयार भए । सबै प्रक्रिया मिलेपछि २२ जेठमा प्रत्यारोपण सफल भयो । प्रत्यारोपणपछि हाल उनी घरमै आराम गरिरहेका छन् । उनी नेपाल फर्किएलगत्तै केन्द्रमै पुगेका थिए । अस्पतालले उनलाई डायलाइसिसका लागि कोरियन अस्पतालमा पठाउने गरेको थियो । उनी भन्छन्, ‘डोनर र परीक्षण मिल्यो भने पालो पनि छिटो आउने रहेछ, होइन भने धेरै समय पालोमै बस्नुपर्ने रहेछ ।’
मिर्गौला प्रत्यारोपणपछि सेनामै खटिएका जितबहादुर
एक वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका बागलुङका ३५ वर्षीय जितबहादुर थापा नेपाली सेनाको जागिरे छन् । प्रत्यारोपणपछि उनी नियमित काममै खटिँदै आएका छन् । दैनिक औषधि सेवन गरेर उनी ड्युटीमा खटिएका छन् । प्रत्यारोपणपछि उनको शरीरमा सुधार आइसकेको छ । नियमित औषधि सेवन भने गरिरहनुपर्छ । पाँच वर्षअघि थापाको मिर्गौलामा समस्या देखिएको थियो । ढाड दुख्ने, टाउको दुख्नेलगायत समस्या भएपछि उनले अत्यधिक रूपमा पेनकिलर प्रयोग गर्थे । पछि त्यही कारणले मिर्गौला नै बिग्रिएको थाहा पाए । सुरुमा चिकित्सकको सल्लाहअनुसार मिर्गौला रिकभर हुन सक्ने भन्दै उनले चार वर्ष औषधी पनि सेवन गरे । अन्तत: मिर्गौलाले काम गर्न छाड्यो । २६ भदौ ०८१ मा अंग प्रत्यारोपण केन्द्रबाट उनको मिर्गौला प्रत्यारोपण भयो । प्रत्यारोपणका लागि उनी चैत ०८० देखि अस्पतालमा आएका थिए । ६ महिनामै उनको पालो आयो । उनलाई मिर्गौला दिनका लागि श्रीमती गुमा थापामगर तयार भइन् । रक्त समूह मिलेपछि प्रत्यारोपण प्रक्रिया छिटोछिटो अघि बढ्यो । ‘३० वर्षको हुँदा मिर्गौला बिग्रियो, सुरुमा त रिकभर हुन्छ कि भनेर औषधि पनि खाएँ तर भएन,’ उनले सुनाए, ‘प्रत्यारोपणका लागि केन्द्रमा गएको छोटो समयमै पालो आयो, औषधि सेवन गरिरहेकाले पनि दुई महिना मात्रै डायलाइसिस गरेँ, अस्पतालको प्रक्रियामा गएपछि छिटोछिटो प्रत्यारोपणको पालो आयो ।’ उनी अहिले बागलुङस्थित नेपाली सेनाको गणमा काम गरिरहेका छन् ।
श्रीमतीले मिर्गौला दिएपछि पुरानै दैनिकीमा पोखरेल
पोखरामा फेन्सी स्टोर चलाउँदै आएका ५५ वर्षीय पदमराज पोखरेलको दुवै मिर्गौलाले डेढ वर्षअघि अचानक काम गर्न छाडे । सुगर र प्रेसर समस्या भएका उनलाई यही कारणले मिर्गौला फेल भएको चिकित्सकले बताएका थिए । रिपोर्ट सुन्नेबित्तिकै केहीबेर अब जीवन धेरै लामो छैन भन्ने लाग्यो उनलाई । तर, सम्हालिए । दुवै मिर्गाैलाले काम गर्न छाडेका पोखरेल बाँच्ने आशासहित डायलाइसिस प्रक्रियातिर लागे । डायलाइसिसको भरमा कतिन्जेल बाँच्ने ? उनी प्रत्यारोपण गर्नुपर्छ भन्ने सोचमा पुगे । यही क्रममा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आइपुगे । उनलाई मिर्गौला दिनका लागि श्रीमती तयार थिइन् । डोनरसहित अस्पताल आइपुगेका उनको पालो पनि छिट्टै आयो । रक्त समूह मिलेपछि अस्पतालले उनको प्रत्यारोपण प्रक्रियालाई अघि बढायो । चैत ०८० मा अस्पतालमा आइपुगेका उनको १९ असार ०८१ मा प्रत्यारोपण भयो । उनले सुनाए, ‘समस्या भएको छोटो समयमै प्रत्यारोपण सम्भव भयो, सुरुमा केही महिना डायलाइसिस भक्तपुरमै गरेँ, अस्पतालसँग पालो लिएँ, त्यसपछि भक्तपुरमा बोलाएपछि प्रत्यारोपणका लागि गए ।’ उपचारपछि घर फर्किएका पोखरेलले पुरानै फेन्सी पसल सञ्चालन गरिरहेका छन् ।
जन्मजात मिर्गौलामा समस्या भएका प्रतीकले गरे प्रत्यारोपण
काठमाडौंका प्रतीक लामिछानेको बाल्यावस्थादेखि नै मिर्गौलामा समस्या थियो । उमेर बढ्दै जाँदा उनको मिर्गौलाको फङ्सनमा समस्या बढ्दैबढ्दै गयो । सुरुमा उनी उपचार गर्नतिर लागे । सानै उमेर भएकाले बाबुआमाले पनि अन्य विकल्प खोज्दै मिर्गौला ठिक पार्न खोजे । कैयौँ अस्पताल र उपचार विधि अपनाए । नेपालका निजी अस्पतालदेखि र भारतसम्म उपचारका लागि पुगे । तर, औषधी मात्रै सेवन गरेर उनको मिर्गौैलामा सुधार भएन । अन्तत: कि त डायलाइसिस कि त प्रत्यारोपण भन्ने विकल्प मात्रै रह्यो ।
०८१ को असारमा उनी भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुगे । त्यहाँ पुगेको ६ महिनामै उनको पालो आयो । उनलाई मिर्गौला दिनका लागि आमा तयार थिइन् । परीक्षणहरू र रक्त समूह पनि मिल्यो । २६ पुस ०८१ उनको प्रत्यारोपण भयो । प्रत्यारोपणपछि लामिछाने १० दिन आइसियुमा बसे । त्यसपछि घरमै आराम गरिरहेको उनले सुनाए । उनले सुनाए, ‘प्रत्यारोपणका लागि सहज र राम्रो छ भन्ने थाहा पाएपछि केन्द्रमै आए, यहाँ आएको छोटो समयमै प्रत्यारोपण पनि भयो, अस्पतालले सबै परीक्षण मिल्ने र डोनर जुटाउनेलाई छिटै सेवा दिने रहेछ ।’
परदेशमा मिर्गौला बिग्रियो, आमाको मिर्गौलाले दियो नयाँ जीवन
पैसा कमाउन पराइ मुलुकमा पुगेपछि कडा रोगले समात्यो भने कस्तो हुन्छ होला ? धन कमाउन कुवेत पुगेकी इटहरीकी ३७ वर्षीया लक्ष्मी चौधरीका दुवै मिर्गाैलाले साथ दिन छाडे । ०७७ सालमा ब्युटी पार्लरको काम सिकेर कुवेत पुगेकी उनलाई मिर्गौला बिग्रिएपछि जीवन नै अन्धकार लाग्यो । शारीरिक पीडासँगै मानसिक पीडाले थपियोे । यसपछि नेपाल फर्किनुको विकल्प थिएन । दुई वर्षजति काम गरेपछि उनले तालिम लिएको पैसा तिरिसकेकी थिइन् । जाँदा लागेको खर्च पनि तिरेर केही घरखर्च पनि पठाइसकेकी थिइन् । ०७९ को अन्तिमतिर उनी मिर्गौला फेल भएको शरीर लिएर घर आइपुगिन् । यहाँ आएपछि बाँच्ने जिजीविषासहित अनेकौँ उपचारतिर लागिन् । सुरुमा नक्सालस्थित हिमाल अस्पताल पुगिन् । त्यहाँ ६ महिनाजति उपचार गरिन् । औषधी खाएर निको हुन सक्न भन्ने चिकित्सकको आवश्वासनतिर लागेकी उनलाई त्यहाँ पनि भरोसा लागेन ।
त्यसपछि उनी असोज ०८० मा ग्रान्डी अस्पतालमा पुगिन् । त्यहाँ पनि चिकित्सकले औषधीले रिकभर हुन सक्ने भन्दै अनेकौँ औषधी दिए । तर, निको नै भएन । शरीर झन्–झन् गल्दै गइरहेको थियो । कसैले उनलाई भारतमा गएर आयुर्वेदिक उपचार गरेपछि निको हुन्छ भनेर सुनाएको थियो । उनलाई आशा लाग्यो । भारतको बैंग्लोरमा पनि पुगिन् । तीन महिना उपचारमा खर्चिइन् । तीन–चार लाख पैसा सकिन् । तर, बीसको उन्नाइस भएन । निजी अस्पताल धाउँदाधाउँदै निको भएन, बरु भएको पैसाको सत्यानास भयो ।
अन्तत: उनी फागुन ०८० मा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुगिन् । यहाँ जानुअघि उनले प्रत्यारोपणको योजना बनाइसकेकी थिइन् । छोरीको ज्यान बाँच्छ भन्ने आशामा आमा देवकुमारी थरुनीले मिर्गौला दिन तयार भइन् । रक्त समूह पनि मिल्यो । केन्द्रका गएको चार महिनापछि उनको प्रत्यारोपणको पालो आयो । तर, प्रत्यारोपण पालो नजिकिँदै गर्दा उनको पित्तथैलीमा ढुंगा देखियो । पित्तथैलीको अप्रेसन नगरी प्रत्यारोपण गर्न सम्भव थिएन । प्रत्यारोपण गर्नुभन्दा १५ दिनअघि पित्तथैलीको अप्रेसन भयो । अन्तत: ३ असार ०८२ मा उनको शरीरमा आमाको मिर्गौला प्रत्यारोपण भयो अनि सुरु भयो लक्ष्मीको नयाँ जीवन । प्रत्यारोपणपछि उनी निजी कम्पनीमा कामसमेत गर्न थालेकी छन् । उनको परिवार अहिले काठमाडौंका बस्दै आइरहेको छ । ‘धेरै ठाउँमा भौँतारिँदा भौँतारिँदै भक्तपुरमा पुगेपछि बल्ल नयाँ जीवन पाएको अनुभूति भयो,’ लक्ष्मीले सुनाइन्, ‘अस्पताल पुगेको चार महिनामै पालो आयो, प्रत्यारोपणपछि म काममा पनि फर्किएकी छु, अहिले छोराछोरी, श्रीमान्, आमासहित काठमाडौं बस्दै आइरहेकी छौँ ।’ अस्पतालमा फलोअपमा गइरहनुपर्ने र औषधी सेवन गरिरहनुपर्ने भएकाले काठमाडौंमै बस्न थालेको उनले सुनाइन् ।
तेस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरी
गत ९ भदौमा केन्द्रले नेपालमा पहिलोपटक एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण गर्यो । सामान्यत: एउटा व्यक्तिमा तीनपटकसम्म मिर्गौला प्रत्यारोपण गर्नु जटिल र चुनौतीपूर्ण मानिए पनि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दुर्लभ मानिने प्रत्यारोपण सफलतापूर्वक गरेको थियो । उक्त मिर्गौला प्रत्यारोपण गर्ने भाग्यमानी व्यक्ति थिए, सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरी । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । ‘सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्छ, तर इम्युनोलोजिकल अस्वीकार, संक्रमण, क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथीलगायत समस्याले पहिले प्रत्यारोपण गरिएको मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ मानिन्छ । प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउनसमेत कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ ।’ चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण ०७२ मा भारतमा भएको थियो । दोस्रो र हालको तेस्रो प्रत्यारोपण भने केन्द्रमा डा. श्रेष्ठकै नेतृत्वमा भएको हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबिच अंग साटासाट गरी गरिएको केन्द्रले जनाएको छ ।