पाँचथर जिल्लामा पर्ने हिलिहाङ दरबार लिम्बुवानको पुरानो इतिहास बोकेको एक ऐतिहासिक र पर्यटकीय स्थल हो। यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण हिमाल र पाथीभरादेवी मन्दिर सहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका थुप्रै स्थानहरू अवलोकन गर्न सकिन्छ।यो दरबार पुग्नको लागि मेची राजमार्गको फिदिमबाट ताप्लेजुङतर्फ जाने गाडी चढेर नाँगीस्थित हिलिहाङ चोकसम्म पुगिन्छ । त्यसपछि करिब आधा घण्टा पैदल हिँडेपछि दरबार पुगिन्छ ।
६ सय वर्षअगाडि बनाइएको यो दरबारमा तिब्बतबाट ल्याइएका इट्टा र पुराना हतियारहरू भेटिएका छन् । यसले यो ठाउँ ऐतिहासिक मात्र नभई पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण बनाएको छ ।हिलिहाङ दरबारको इतिहास भारतको सिक्किम र तिब्बतसँग पनि जोडिएको छ । नेपाल एकीकरण हुनुभन्दा पहिलै पल्लो किराँतका रूपमा चिनिने यस क्षेत्रमा थुप्रै साना राजा र रजौटा थिए । तीमध्ये याङवरकका राजा हस्तपुर सबैभन्दा शक्तिशाली मानिन्थे। राजा हिलिहाङ लिम्बुवानका अन्तिम राजा थिए भन्ने कुरा इतिहासहरु उल्लेख गरिएको छ ।
यो दरबार पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सीमाना नजिकै पर्छ । पूर्वतर्फ फालेलुङ गाउँपालिकाको प्रसिद्ध आगेजुङ गुम्बा र याङवरक गाउँपालिका छ। पश्चिममा तमोर नदी, उत्तरमा काबेली नदी र दक्षिणमा फिदिम नगरपालिका पर्छ । प्राकृतिक सौन्दर्यले भरिएको यो ठाउँ जोरपोखरी, आगेजुङ गुम्बा, भोटेगढी, किराँत माङहिम जस्ता धार्मिक र सांस्कृतिक सम्पदाले घेरिएको छ ।
हिलिहाङ गाउँपालिकाले यस क्षेत्रलाई पर्यटकीय रूपमा विकास गर्न गुरु योजना बनाएको छ। अध्यक्ष समरबहादुर अधिकारीले गुरुयोजना बनाएर संघीय सरकारमा पेश गरेपनि रकम विनियोजन नहुँदा योजना अलपत्र परेको जानकारी दिए। अध्यक्ष अधिकारीले दरबारलाई संग्रहालयका रूपमा पनि संरक्षण गरिएको छ र केन्द्र सरकारसँग थप बजेटको माग गरिएपनि बेवास्ता गरेको जानकारी दिए । अहिले सम्ममा दरबारको संरक्षणका लागि करिब ८ आठ करोड रुपैया खर्च भएपनि गुरुयोजना अनुसार अझै धेरै रकम चाहिने अध्यक्ष अधिकारीले जानकारी दिए ।
तर, अहिले पनि हिलिहाङ दरबार संरक्षणको पर्खाइमा छ । नेपाल एकीकरणका बेला राजा हिलिहाङ र पृथ्वीनारायण शाहबीच १७ पटक युद्ध भएको इतिहास छ । लामो समयसम्म दुबै पक्षले जित नपाएपछि अन्ततः सन्धि भएको थियो । सन्धि अनुसार हिलिहाङ राजा र उनका सन्तानले स्थानीय शासन चलाउने अधिकार पाउने र गोर्खालीलाई केन्द्रीय शक्ति मान्ने सहमति भएको थियो । यसै सम्झौताका कारण शाह र हिलिहाङ राजपरिवारबीच दाजुभाइको सम्बन्ध स्थापित भएको इतिहासमा उल्लेख गरिएको छ ।
राजा हिलिहाङको जन्म वि.सं. १७७३ मा भएको थियो । मृत्यु वि.सं. १८४२ मा भएको बताइन्छ । उनले ३१ वर्षको उमेरमा शासन सम्हालेका थिए र २८ वर्ष शासन गरेका थिए । उनका सेनापति नाम्दीहाङ (काङशोरे) थिए । हिलिहाङ क्षेत्र विभिन्न जातजाति, धर्म र संस्कृतिको संगमस्थल हो । यहाँ परापूर्वकाल देखि नै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव रहेको पाइन्छ ।