आइसिसी विश्वकप टी–२० एसियन छनोट : समूह विजेता हुँदै नेपाल सुपर सिक्समा

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण
आइसिसी विश्वकप टी–२० एसियन छनोट : समूह विजेता हुँदै नेपाल सुपर सिक्समा

जापानिज खेलाडीको विकेट लिएपछि नेपालका गुल्सन झा । तस्बिर : सौजन्य क्यान

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली शुक्रबार आइसिसी विश्वकप टी–२० अन्तर्गत एसियन छनोटमा समूह ‘बी’को विजेता हुँदै सुपर सिक्समा पुगेको छ । नेपालले ओमानमा चलिरहेको छनोट प्रतियोगितामा आफ्नो दोस्रो खेलमा जापानमाथि पाँच विकेटको सानदार जित निकाली अर्को चरणमा स्थान बनाएको हो । जापान समूह ‘बी’को उपविजेता बनेको छ । सुपर सिक्समा नेपाल, जापानसँगै युएई र कतारले स्थान पक्का गरेका छन् । 

पहिलो ब्याटिङ गरेको जापानले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३१ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले १८ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३२ रन जोडेको थियो । नेपालको जितमा कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ४.६ ओभरमा ३६ रनको साझेदारी गरेको थियो । भुर्तेलले २१ बलमा तीन चौका प्रहार गरी २१ रन जोडे । इनिङ्सको ७.२ ओभरमा सेखले आफ्नो विकेट गुमाउँदा नेपाल ६३–२ को स्थितिमा रह्यो । उनले २१ बलमा चार छक्का र एक चौका प्रहार गरी सर्वाधिक ३८ रनको योगदान दिए । कप्तान रोहित पौडेलले १९ बलमा १८ रन बनाए । 

नेपालले सन्दीप जोरा र कुशल मल्लको विकेट गुमाउँदा दबाब सामना गर्‍यो । १२.२ ओभरमा नेपाल ९०–५ को स्थितिमा रहँदा जापान खेलमा फर्कने प्रयास गर्‍यो । तर, अलराउन्डर भूमिका निर्वाह गरेका गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले छैटौँ विकेटका लागि ४२ रनको साझेदारी गर्दै नेपालको जित पक्का पारे । गुल्सनले २० बलमा एक चौका र दुई छक्का प्रहार गरी २८ रन बनाए । दीपेन्द्रसिंहले १४ बलमा १४ रन बनाए । 

मलेसिया बाहिरियो
छनोट प्रतियोगिताबाट मलेसिया बाहिरिएको छ । प्रतियोगिताको शुक्रबार युएईले मलेसियामाथि ६ विकेटको जित निकालेको हो । पहिलो ब्याटिङ गरेको मलेसियाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६१ रनको बलियो योगफल खडा गर्‍यो । युएईले १९.२ ओभरमा चार विकेटको क्षतिमा एक सय ६७ रन जोड्दै सुपर सिक्सको स्थान पक्का गर्‍यो । मलेसियाले समूह ‘ए’मा दुवै खेल गुमाएको छ । यस समूहमा मलेसिया नवप्रवेशी सामोआसँग पराजित भएको थियो । 

नेपाली बलरको उत्कृष्ट पुनरागमन
नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि जापानले स्कोरबोर्डमा सोचेजस्तो योगफल खडा गर्न सकेन । एक समय जापानले नेपाललाई बलियो लक्ष्य दिने संकेत गरेको थियो । तर, नेपाली बलरले उत्कृष्ट पुनरागमन गर्दा जापानको मध्यक्रम कमजोर बन्यो । खेलमा नेपालले पकड बनायो । 

जापानको ब्याटिङमा ओपनर तथा कप्तान केन्डेल फ्लेमिङले ४६ बलमा सर्वाधिक ६० रनको योगदान दिए । उनले आफ्नो अर्धशतकीय इनिङ्समा पाँच चौका र तीन छक्का प्रहार गरेका थिए । इशम रहमानले २५ बलमा एक चौका र दुई छक्काको मद्दतमा ३१ रन बनाए । फ्लेमिङ र रहमानले दोस्रो विकेटका लागि ८६ रनको बलियो साझेदारी गरेका थिए । 

दुवैले जापानलाई ११–१ बाट ९७–२ को बलियो स्थितिमा राखेका थिए । सोमपाल कामीले जापानको डरलाग्दो साझेदारी तोड्दै खेल नेपालतर्फ ल्याउन सफल भए । रहमान आउट भएपछि जापानका अन्य खेलाडीले गतिलो ब्याटिङ गर्न सकेनन् । त्यसपछि उनीहरू रनका लागि संघर्षरत देखिए । इनिङ्सको १३.५ ओभरमा पाँचौँ बलमा रहमानको विकेट लिएका हुन् । जापान इनिङ्सको एक समय ९२–२ को बलियो स्थितिमा थियो । जापानले थप ३३ रन बनाउँदा ६ विकेट गुमायो । 

बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । गुल्सनले चार ओभरमा एक मेडन राखी २० रन खर्चिए । सन्दीपले चार ओभरमा २५ रन दिए । नन्दन यादव र सोमपाल कामीले एक–एक विकेट लिए । जापान र नेपाल यसअघि नै सुपर–६ मा पुगिसकेका छन् । छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा स्थान पक्का गर्नेछन् । 

सुझावित समाचार