आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसियन एन्ड इएपी छनोटमा जापानले नेपाललाई १३२ रनको लक्ष्य दिएको छ। ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको जापानले २० ओभरमा आठ विकेट गुमाएर १३१ रनको योगफल बनाएको हो।
जापानको ब्याटिङमा ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले ४६ बलमा सर्वाधिक ६० रनको योगदान दिए। उनले आफ्नो अर्धशतकीय इनिङ्समा पाँच चौका र तीन छक्का प्रहार गरेका थिए। इसम रहमानले २५ बलमा एक चौका र दुई छक्काको मद्दतमा ३१ रन बनाए। फ्लेमिङ र रहमानले दोस्रो विकेटका लागि ८६ रनको बलियो साझेदारी गरेका थिए।
दुवैले जापानलाई ११–१ बाट ९७–२ को बलियो स्थितिमा राखेका थिए। सोमपाल कामीले जापानको डरलाग्दो साझेदारी तोड्दै खेल नेपालतर्फ ल्याउन सफल भए। रहमान आउट भएपछि जापानका अन्य खेलाडीले गतिलो ब्याटिङ गर्न सकेनन्। त्यसपछि उनीहरू रनका लागि संघर्षरत देखिए। इनिङ्सको १३.५ ओभरमा पाँचौँ बलमा रहमानको विकेट लिएका हुन्। जापान इनिङ्सको एक समय ९२–२ को बलियो स्थितिमा थियो। जापानले थप ३३ रन बनाउँदा ६ विकेट गुमायो।
बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले समान दुई विकेट लिए। गुल्सनले चार ओभरमा एक मेडन राखी २० रन खर्चिए। सन्दीपले चार ओभरमा २५ रन दिए। नन्दन यादव र सोमपाल कामीले एक–एक विकेट लिए। जापान र नेपाल यसअघि नै सुपर सिक्समा पुगिसकेका छन्।
छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।