कतारमा रहेका प्रवासी नेपाली भन्छन्– नेपालमा घोषित मितिमै चुनाव होस्, स्थिर सरकार आओस्

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

प्रवासी नेपालीले जेन–जी आन्दोलनको बलमा गठन गरिएको सरकारले समयमै निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् । कतारमा रहेका नेपाली श्रमिक र व्यवसायीहरूले गठन गरेको दुई सयभन्दा बढी संघसंस्थाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेअनुसार समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका हुन् ।

गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष कृष्ण पन्थीले स्थिर सरकार हुने गरी निर्वाचन हुनुपर्ने र २१ फागुनको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुपर्ने बताए । जेन–जी आन्दोलनले भ्रष्टाचारविरुद्ध देशलाई सजग बनाएको भन्दै उनले कतारमा रहेका नेपाली समुदायको चासो निर्धारित समयमा निर्वाचन हुनुपर्ने बताए । कतारमा बस्दै आएका नेपाली समुदायको माग स्थिर सरकार हुनुपर्ने र घोषित निर्वाचनमा प्रवासमा रहेका नेपाली समुदायलाई मताधिकार प्रयोग गर्न अवसर दिनुपर्ने उनको भनाइ छ ।

कतारस्थित क्युएसटी ट्रेनिङ सेन्टरकी प्रमुख रहेकी जलेश्वरकी यास्मिन नाजले नेपालमा घोषित मितिमै निर्वाचन हुनुपर्ने बताइन् । जेन–जीले आफ्नो बलिदानी दिएर देशलाई भ्रष्टाचारबाट जोगाउन खोजेको भन्दै यास्मिन वर्तमान सरकारको प्राथमिकता निर्वाचन र ०४६ पछिको भ्रष्टाचारको छानबिन भएकाले त्यसैअनुसार अगाडि बढ्नुपर्ने बताउँछिन् । 

कतारमा कन्स्ट्रक्सन कम्पनी खोलेर व्यापार गर्दै आएका काठमाडौंका सुनीलकुमार घिमिरेले पनि नेपालमा निर्वाचन समयमा हुनुपर्ने धारणा राखे । जेन–जीको आन्दोलनले देशमा सरकार परिवर्तन भएको भन्दै अहिलेको राजनीतिक निकास र देशको विकास गर्न युवा पुस्ताको सहभागितासहितको सरकार गठन हुन आवश्यक भएको उनको भनाइ छ ।

काठमाडौं नैकापकी रिता पोखरेलले जेन–जीले आन्दोलनले देशमा भ्रष्टाचारविरुद्ध सकारात्मक सन्देश दिएकाले समयमै निर्वाचन हुनुपर्ने बताइन् । कतारबाटै मतदान गर्न व्यवस्था मिलाउनुपर्ने उनको माग छ । रोजगारी र अध्ययनका क्रममा अधिकांश युवा पुस्ता देशबाहिर रहेको भन्दै पोखरेलले विदेशमा रहेको नेपाली समुदायलाई निर्वाचनमा मत खसाल्न पाउने अवसर अहिलेको सरकारले दिनुपर्ने बताइन् ।

धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीबाट उम्मेदवारी दिएका कन्स्ट्रक्सन कम्पनीका प्रमुख इन्जिनियर शम्भुनाथ साहले भ्रष्टाचारले जरो गाडिएको देशमा युवा पुस्ताले बलिदान दिएर सही ट्र्याकमा ल्याउन खोजेको बताए । युवा पुस्ताको मागअनुसार नेपालमा घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुपर्ने उनको भनाइ छ । नेपालमा निर्वाचन गर्दा विदेशमा रहेका नेपाली समुदायलाई पनि मतदानको अवसर मिल्नुपर्ने भन्दै इन्जिनियर साहले अब पनि जेन–जीको मागअनुसार देशलाई भ्रष्टाचारबाट मुक्त गर्न सक्ने स्थायी सरकार चयन गर्नबाट चुक्न नहुने बताए ।

काठमाडौं सिनामंगलकी कृस्टिना माखिमले भ्रष्टाचारविरुद्ध युवाहरू पहिलोपटक ठुलो संख्यामा सडकमा आएर सरकार ढालेको भन्दै अब नयाँ सरकार पाँच वर्ष चलाउन सक्ने गरी स्थायी हुनुपर्ने बताइन् । देशमा स्थायी सरकार नहुँदा अरू देशमा निर्भर हुनुपर्ने बाध्यता भएको भन्दै उनले आफू जेन–जी भएकाले पनि आगामी निर्वाचन समयमै हुनुपर्ने र स्थायी सरकार चयन गर्नुपर्ने धारणा राखिन् । निर्वाचनमा मतदान गर्न आफू निकै उत्साहित रहेको भन्दै उनले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर मिल्नुपर्ने बताएकी छिन् । 

कतारको सनैयामा रहेको प्लाजा मलभित्रको एउटा पसलमा नौ वर्षदेखि कार्यरत दाङ तुलसीपुरका नवराज डाँगीको मत पनि कृस्टिनाकै जस्तो छ । चुनावमा मतदान गर्ने अवसर पाएमा परिवर्तनको पक्षमा मत खसाल्ने उनले बताइन् । कतारमा श्रम र व्यापार व्यवसायमा करिब साढे तीन लाख नेपाली छन् ।

See More On

सुझावित समाचार