सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बिहीबार साँझ दार्मा गाउँपालिका– ५, भिरपाटीस्थित रुकुम झुल्नेटाबाट नुवाकोट जोड्ने भित्री सडकखण्डमा रा.२प ७०२२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलचालक सल्यान कुमाख गाउँपालिका– ५, चिमालडाँडाका २३ वर्षीय प्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
सडकबाट झन्डै चार सय मिटर तल खसेका घर्तीको झुल्नेटामा रहेको आकाश पोलिक्लिनिकमा सामान्य उपचारपछि जिल्ला अस्पताल सल्ले रुकुम पठाएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए।
मोटरसाइकलको पछाडी सवार रुकुम पश्चिम चौरजहारी नगरपालिका– १४ का १८ वर्षीय महेन्द्र पुनको सामान्य उपचारपछि डिस्चार्च भएको उनको भनाइ छ । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।