गृह मन्त्रालयले पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरूको सुरक्षा कटौती गरेको छ । बिहीबारको सुरक्षा समितिले विशिष्ट व्यक्तिहरूको सुरक्षासम्बन्धी कार्यविधिभन्दा धेरै सुरक्षाकर्मी खटिएकाहरूको हकमा कटौतीको निर्णय गरेको हो ।
कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा बढीमा १० जना सुरक्षाकर्मी खटाउन सकिने उल्लेख छ । तर, पूर्वप्रधानमन्त्रीहरू केपी ओली, पुष्प कमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाललगायतले त्यसभन्दा धेरै सुरक्षाकर्मी राखेका छन् । मापदण्डभन्दा धेरै खटिएकालाई फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पत्राचार गरिएको छ । मापदण्डबाहिर खटिएकाको हकमा फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आन्दन काफ्लेले बताए।
प्रहरीले केही दिनअघि नै सुरक्षाकर्मी फिर्ता गर्न थालिसकेको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरे मापदण्डबाहिर खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता भइरहेको बताउँछन् । स्रोतका अनुसार नेपाल प्रहरीका मात्र करिब एक सय सुरक्षाकर्मी फिर्ता भइसकेका छन् ।
सुरक्षाका नाममा कतिपय नेताहरूले सुरक्षाकर्मीलाई आफ्नो सहयोगीका रूपमा व्यक्तिगत काममा परिचालन गर्दै आएका छन् । कतिपयले सुरक्षाभन्दा शानका लागि पहुँचका भरमा पिएसओ राखेका छन् ।