ओलीको चेतावनी– कार्की आयोग नमान्ने र प्रतिवेदन अस्वीकार गर्ने, संसद् पुनर्स्थापनाका लागि आन्दोलन गर्ने

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जेन–जी आन्दोलनमा भएका दमन र तोडफोडको घटना छानबिन गर्ने आयोगलाई अस्वीकार गर्ने चेतावनी दिएका छन् । भक्तपुरस्थित जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले विघटित संसद् पुनर्स्थापनाका लागि आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् । ओलीले आफ्नो पासपोर्ट रद्ध गर्ने र उपत्यकाबाहिर जान नदिने सरकारी निर्णयलाई पनि तमासा भनेका छन् । 

संसद् रहने र संविधान रहने गरी निकास खोज्न सहमति जनाएको, तर संसद् विघटन भएको आरोप लगाए । उनले सरकारलाई वार्ता गर्न नदिएको पनि बताए । ओलीले २४ भदौमा प्रधानमन्त्रीबाट विस्थापित भएका थिए । ‘संसद फिर्ता गर्ने माग राखेर अघि बढ्नेबाहेक अरू विकल्प छैन । नेपाली कांग्रेसले पनि आफूलाई पनि यही बाटोमा अघि बढ्नेछ । देशलाई लोकतान्त्रिक बाटोमा फर्काउने योबाहेक अन्य बाटो छैन । हामीले समयमा दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौँ भने पछि ढिला भएछ भनेर पछुतो मान्नुपर्नेछ । फागुन २१ गते पर्खिनुपर्दैन। नेपाली जनताले आन्दोलनको आँधीबेहेरी सिर्जना गर्नुपर्नेछ । शान्ति र जनताको सुरक्षाको प्रबन्ध राजनीतिक दलको अगुवाइमा गर्नेछौँ, एमालेले अगुवाइ गर्नेछ,’ ओलीले भने । 

ओलीले आफ्नो सम्पत्ति छानबिन गर्न माग गरे । ‘सम्पत्ति छानबिन गर्ने अरे । एकपटक होइन, दशपटक छानबिन गर । मन्त्रीजीहरू तपाईंहरू आफ्नै सम्पत्ति छानबिन गर्न सक्नुहुन्छ ? पहिले नै केपी ओली थुन्नुपर्छ, समाउनुपर्छ भन्नेहरूको आयोग बनाएर प्रतिवेदन बनाउने नाटक एमालेलाई स्वीकार्य छैन । एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन,’ ओलीले भने, ‘आयोगमा बस्न भन्दा अगाडिका अभिव्यक्तिहरू आइसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्दैनथ्यो ? एउटा विरोधी निष्पक्ष हुन्छ ? के गरेर उहाँहरू निष्पक्ष हुनुभयो ? बागमतीको पानी खानुभो ? गंगाजल खानुभो । तपाईंहरू प्रतिवेदन लेख्नुस्, बुझाउनुस् । एमालेलाई मान्य छैन । जे गर्नुछ गर्नुस् ।’ 

उनले यो सरकार संविधानसम्मत नभएको बताए । ‘यो सरकारलाई संविधानले चिन्दैन । यो सडक तमासा नभए के हो ? नेताहरूलाई मुद्दा चलाएर, जेल हालेर, अपमान गरेर, बुथ कब्जा गरेर कसैलाई चुनाव लड्न नदिएर चुनाव घोषणा गर्न खोजिएको होला, यस्ता दिवा सपना साकार हुन्छ भनेर नठाने हुन्छ,’ ओलीले भने, ‘चुनाव गराउनु छ, उहाँहरू राजनीतिक दलहरूसँग संवाद गर्नुहुन्न । राजनीतिक दलहरूलाई दमन गर्न खोज्नुभएको छ । दलहरूलाई बाइपास गरेर, दमन गरेर चुनाव हुन्छ ?’

ओलीले आफू नभाग्ने बताए । ‘सुशीला कार्कीजीको डरले केपी ओली भाग्छ गुटुटु ? मैले यी गृहमन्त्रीको नाम सुनेको थिइनँ । गृहमन्त्री बाबुलाई नचम्किन, सम्हालिन सुझाव दिन चाहन्छु । जेलनेल हाम्रा लागि नयाँ कुरा होइन,’ ओलीले भने, ‘यो देशको सार्वभौमसत्ता, स्वाभिमान रक्षाका लागि जुनसुकै बलिदान दिन तयार छौँ । जिस्क्याइरहनुपर्दैन । यसका लागि लडेरै यहाँसम्म आएका हौँ ।’ ओलीले देशमा कहिले–कहिले यस्तो हुँदो रहेछ, भन्दै थपे, ‘यो देशमाथि हमला छ । सार्वभौमसत्ता, भौगोलिक क्षेत्रमाथि हमला । यो देश बलियो होला भन्ने चिन्ता छ कसैलाई । यो षड्यन्त्रको मतियार भएर को आउँछ, यसको हामी सामना गर्छौँ ।’

संविधानअन्तर्गत यो सरकार नबनेको, जनप्रतिनिधि संस्थाले नछानेको र सरकारमा भएकाहरू जनताबाट छानिन पनि नसक्ने टिप्पणी गरे । उनले आन्दोलनकारीहरूलाई पनि आक्षेप लगाए । ‘नेपालको जनसंख्या तीन करोड छ । कथित आन्दोलन तोडफोडमा उत्रिएकाहरूको संख्या एक लाख होला ।  बितण्डा खडा गर्नेहरू एक प्रतिशत पनि छैन,’ ओलीले भने, ‘जेन–जी भनेर युवाहरूलाई भ्रममा पार्ने, नेपालमा अस्थिरता कायम गर्छौँ भन्नेहरू असफल भए ।माओवादीहरूको आन्दोलन गरेर असफल भयो भड्काउन सकेन, रास्वपा उफ्रियो थच्चियो, राप्रपाले केही पनि गर्न सकेन । जेन–जी भन्ने बालबालिका अघि सारेर आफू पछि बसेर आगो लगाइयो । आगो जेन–जीले लगाएको हो ? आगो लगाउनेहरूलाई अहिले गृहमन्त्रीले कारबाही नगर्लान् । यत्रो अपराध क्षम्य हुन सक्दैन । एक छिनलाई जेसुकै गर्नुस्, राष्ट्रको सम्पदा समाप्त पार्नेहरूलाई क्षम्य हुन सक्दैन । देश अराजकताको बाटोमा जान सक्दैन ।’

उनले लोकतन्त्रको बाटोमा देशलाई फर्काउने पनि बताए ।उनले २३ भदौको गोलीकाण्ड भोलिपल्टको आगजनी र तोडफोडका लागि आधार तय गर्न गराइएको पनि आरोप लगाए । उनले त्यसमा जिम्मेवारी लिएनन् ।
 

सुझावित समाचार