एसियन टी–२० विश्वकप छनोट : कुवेतमाथि नेपालको सानदार जित

नेपालले दिएको १४२ रन पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमै समेटियो

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुवेतलाई ५८ रनले हराउँदै आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा सानदार सुरुवात गरेको छ । ओमान क्रिकेट एकेडेमी १ मा बुधबार पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १४१ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा समेटिँदा नेपाल ५८ रनले विजयी भयो ।

नेपाल लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक आइसिसी टी–२० विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको हो । नेपालले समूह ‘बी’मा महत्वपूर्ण २ अंक जोडेको छ । अब नेपालले जापानविरुद्ध शुक्रबार अन्तिम खेल खेल्नेछ । यस खेलमा जित निकाल्दा समूह विजेताका रूपमा नेपाल सुपर सिक्समा पुग्नेछ ।

लक्ष्य रक्षा गर्ने क्रममा सोमपाल कामी, नन्दन यादव, ललितनारायण राजवंशी, कुशल भुर्तेल तथा रोहितकुमार पौडेलले उत्कृष्ट बलिङ गरेका थिए । सोमपालले दुई ओभरमा ३ रन खर्चेर एक विकेट लिए । नन्दनले पनि दुई ओभरमा ११ रन दिँदै एक विकेट हात पारे । ललित राजवंशी, सन्दीप लामिछाने र रोहित पौडेलले समान दुई विकेट लिए । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन ओभरमा १० रन खर्चेका थिए । सन्दीपले आफ्नो बलिङ स्पेलमा एक मेडन फ्याँकेका थिए ।

कुवेतको मध्य तथा पुछारका ब्याट्सम्यान चल्न नसक्दा नेपाली बलर हाबी भए । इनिङ्सको एक समय कुवेत ५६–४ को स्थितिमा थियो । त्यसपछि थप २७ रन जोड्दा कुवेतले बाँकी विकेट गुमाउँदा ८३ रनमा अलआउट भयो । ओमानमा चलिरहेको छनोटबाट तीन राष्ट्रले आगामी वर्षको फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा स्थान बनाउनेछन् । सुपर सिक्सका शीर्ष तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन् । एसिया छनोटमा नेपालसहित मलेसिया, कतार, युएई, ओमान, पपुवा न्युगनी र सामोआले प्रतिस्पर्धा गरिरहेका छन् । अर्को वर्ष आयोजना हुने विश्वकपमा १७ राष्ट्रले स्थान पक्का गरिसकेका छन् ।

भुर्तेलको १२औँ अर्धशतकीय इनिङ्स
कमजोर सुरुवात गरेको नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतकीय योगदान पाएको थियो । इनिङ्सको १९.५ ओभरमा आफ्नो विकेट गुमाउनुअघि भुर्तेलले ५६ बलको सामना गरी समान तीन चौका र छक्का प्रहार गरी ६६ रनको योगदान दिएका थिए । टी–२० आईमा उनको यो १२औँ अर्धशतक हो । उनले अहिलेसम्म नेपालबाट ६५ टी–२० आई खेलेका छन् । मध्यक्रमका ब्याट्सम्यानले गतिलो योगदान दिन नसक्दा नेपालको ब्याटिङ कमजोर देखिएको थियो । तल्लो क्रमका गुल्सन झाले ६ बलमा तीन छक्काको सहयोगमा २० रन जोडेपछि नेपालले कुवेतलाई मध्यम योगफल दिएको हो । भरपर्दा ब्याट्सम्यान ओपनर आसिफ शेख २, कप्तान रोहित पौडेल १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान दिए । सन्दीप जोरा ५ र कुशल मल्ल ४ रनमा आउट भए ।

ओमानको क्रिकेट एकेडेमी १ मैदानमा नेपालका कुनै पनि ब्याट्सम्यानले कुवेतको बलिङविरुद्ध खुलेर सामना गर्न सकेनन् । नेपालले १९औँ ओभरमा २७ रन जोडेको थियो । कुवेतका नवीन राजेन्द्रनको ओभरमा गुल्सनले तीन छक्का र भुर्तेलले दुई चौका प्रहार गरेका थिए । यस ओभरबाट नेपालको रनरेट बढेको थियो । कुवेतका तीव्र गतिका बलर मोहम्मद अकिफ फारुकले तेस्रो ओभरमा आसिफलाई एलबिडब्लू आउट गरे । लेग स्पिनर नवीन राजेन्द्रनले कप्तान पौडेललाई बोल्ड गरे । नेपालको इनिङ्स एक समय ७.२ ओभरमा ४६–२ को अवस्थामा थियो । मल्ल र जोरालाई गुमाउँदा नेपाल ११.४ ओभरमा ६३–४ को नाजुक अवस्थामा पुगेको थियो । कुवेतका नवीन राजेन्द्रनले ४ ओभरमा ४० रन खर्चेर दुई विकेट लिए । अनुपदीपले पनि दुई विकेट हात पारे । 

युएई सात विकटले विजयी
युएईले समूह ‘ए’मा कतारमाथि सात विकेटको जित निकालेको छ । पहिलो ब्याटिङ गरेको कतारले २० ओभरमा आठ विकेट गुमाउँदै ११८ रनको मध्यम योगफल बनायो । प्रत्युत्तरमा युएईले १८.३ ओभरमा तीन विकेटको नोक्सानीमा ११९ रन जोड्दै जित हात पार्यो । युएईको जितमा तेस्रो क्रमका ब्याट्सम्यान अलिसान साराफुले अर्धशतकीय योगदान दिएका थिए । उनले ४२ बलमा चार चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ५१ रन बनाए । यसैगरी हर्षित कौशिकले ३० बलमा तीन छक्काको सहयोगमा ३७ रन बनाएका थिए ।

यसअघि कतारको ब्याटिङमा ओपनरद्वय इमाल लियानागे र जुविर अली शून्यमा आउट भएका थिए । मोहमद असिम पनि शून्यमै पेभेलियन फर्कंदा कतारले १.३ ओभरमा तीन विकेट गुमाएर ५ रन जोडेको थियो । त्यसपछि कप्तान मिर्जा मोहमदले ३० तथा सहजैव जमिलले २० रन जोडे । बलिङमा युएईका मुहमद रोहिदले १३ रन खर्चेर दुई विकेट लिए । जाहिद अलीले पनि दुई विकेट हात पारे । 

नवप्रवेशी सामोआ पराजित
ओमानले समूह ‘सी’को विश्वकप छनोटको नवप्रवेशी राष्ट्र सामोआलाई पाँच विकेटले हराएको छ । पहिलो ब्याटिङ गरेको सामोआले २० ओभरमा ९ विकेटको क्षतिमा ९२ रनको मध्यम योगफल खडा गरेको थियो । ओमानले १७ ओभरमा पाँच विकेट गुमाएर ९६ रन जोडेको थियो । खेलमा ओमानका साह फैसल म्यान अफ दी म्याच भए । उनले १२ रन खर्चेर दुई विकेट लिएका थिए । ९३ रनको सहज लक्ष्य पछ्याएको ओमानका लागि हमाद मिर्जाले २८ बलमा १८, आर्यानले १७ बलमा १४ तथा मोहमद नदिमले २२ बलमा २१ रनको योगदान दिएका थिए । ओमानको बलिङमा फैसलबाहेक नदिम र आमिर कलिमले समान दुई विकेट हात पारेका थिए । 

सुझावित समाचार