प्रेरक प्रसंग : बुद्ध र रिसाहा व्यापारी

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

एक धनी व्यापारी निकै रिसाहा थिए । क्रोधका कारण उनी परिवार, मित्रगण र आफन्तजनमाझ पनि अलोकप्रिय थिए । बाहिरी दुनियाँले पनि उनलाई राम्रो नजरले हेर्दैनथे । उनीसितको बस–उठले उनको परिवारका सदस्य पनि बिस्तारै रिसाहा बन्दै गएका थिए । अहंकारको टकराहटले उनको घरको वातावरण नर्कतुल्य बनेको थियो ।

यो सब महसुस गरिरहेका व्यापारी दु:खी भएर एक दिन भगवान् बुद्धको शरणमा पुगे । आफ्नो अवस्थाबारे सबै यथार्थ बुद्धलाई सुनाइसकेपछि उनले क्षमायाचना गर्दै भने– भगवान्, मलाई यस नरकबाट मुक्ति दिनुहोस् । म पनि भिक्षु बन्न चाहन्छु, मलाई दीक्षा दिनुहोस् । व्यापारीको याचना सुनेपछि गम्भीर हुँदै बुद्धले भने– अहिले भिक्षु बन्ने तिम्रो समय आएको छैन । भिक्षु कहिल्यै पलायनवादी हुनुहुँदैन । तर, तिमी त परिवारभित्रको समस्याबाट भागेर भिक्षु बन्ने बाटो रोजिरहेका छौ । अब तिमी घर जाऊ र आफ्नो गृहस्थी सम्हाल । तिमी अरूबाट जस्तो व्यवहारको अपेक्षा गर्छौ, आफू पनि अरूप्रति त्यस्तै व्यवहार गर । यत्ति गर्न सक्यौ भने तिम्रो घर मन्दिर बन्छ ।

भगवान् बुद्धको उपदेश पाएपछि व्यापारी खुसी मनले घर फर्किए । घर फर्किएपछि उनले बुद्धको उपदेशलाई पूर्णत: अपनाए । उनले आफ्नो रिस नियन्त्रणमा राख्दै गए । परिणामत: उनका परिवारका सदस्यको पनि रिस कम हुँदै गयो । यसले उनको घरको वातावरण पनि स्वत: बदलियो । अब परिवारका सबैले आआफ्नो रिस, राग र अहंकार भुलेर आपसमा प्रेम गर्न थाले । छिटै घरको दूषित वातावरणमा नयाँ उल्लास छायो ।

सुझावित समाचार