जेन–जी आन्दोलनमा सुदूरपश्चिमबाट भागेका साढे चार सय कैदीबन्दी अझै फर्किएनन्

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका कारागारबाट भागेका साढे चार सय कैदीबन्दी अझै फर्किएका छैनन् । ६ वटा कारागार र एउटा बालसुधार गृहबाट फरार भएका चार सय ४८ जना कैदीबन्दी हालसम्म नफिर्कएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ । तीमध्ये ३६ महिला कैदीबन्दी हुन् ।

आन्दोलनका बेला कैलाली, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बझाङ र बैतडी कारागार तथा बाल सुधार गृह डोटीबाट एक हजार ४५८ जना कैदीबन्दी फरार भएका थिए । फरारपछि प्रहरीले नियन्त्रणमा लिएको र आफैँ सम्पर्कमा आएका कैदीबन्दीको संख्या एक हजार पाँच रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

गत २४ भदौमा आन्दोलनकारी कारागारहरू पुगेर तोडफोड गर्नुका साथै कैदीबन्दीलाई बाहिर निकालेका थिए । कैलाली कारागारबाट प्रदेशभरमै सबैभन्दा बढी २३ महिलासहित दुई सय ९७ जना कैदीबन्दी फरार छन् । कैलाली कारागारबाट फरार भएका १९ जना भारतीय नागरिक पनि नफर्किएको कैलाली कारागार प्रमुख चिरञ्जीवी सापकोटाले बताए ।

आन्दोलनकारीले कैलाली कारागार नियन्त्रणमा लिएपछि त्यहाँ रहेका ६६७ जना कैदीबन्दीमध्ये ६६६ जना निस्किएका थिए । 

प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुर कारगारबाट ११०, डडेल्धुरामा पाँच, दार्चुलामा सात, बझाङमा १२, बैतडीमा दुई जना कैदीबन्दी फरार छन् । त्यस्तै बालसुधार गृह डोटीबाट १५ जना फरार छन् । सरकारले फरार भएका कैदीबन्दीलाई पछिल्लो समय २० असोजसम्म कारागार फर्किसक्न भनेको थियो ।

फरार भएका कैदीबन्दीबाट सुरक्षा चुनौती बढेको छ । खुला सीमानाका कारण फरार भएका कतिपय कैदीबन्दी भारत गएको हुन सक्ने सुरक्षा अधिकारीहरूको आकलन छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक गौतमले फरार भएका कैदीबन्दीबाट हुन सक्ने आपराधिक घटना र सुरक्षा चुनौतिको आकलन गरेर सुरक्षा सतर्कता अपनाइएको बताए ।

फरार कैदीबन्दी पक्राउ गर्न जिल्लाबिच समन्वय गर्ने, नाकामा निगरानी गर्नेजस्ता काम भइरहेको उनले बताए। कतिपय ठाउँमा फरार कैदीबन्दी अपराधमा संलग्न देखिएपछि सुदूरपश्चिममा अहिलेसम्म फरार कैदीबन्दीबाट आपराधिक घटना भएको नपाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

‘फरार कैदीविरुद्ध कारबाहीको चरण सुरु भएको छैन, अहिलेसम्म कारागार फर्किननै भनिएको छ,’ प्रहरी उपरीक्षक गौतमले भने, ‘अहिले फरार भए पनि कुनै न कुनै दिन कैद सजाय भुक्तान गर्नै पर्छ । सरकारले दिएको समयमा कारागार नफर्किए कैदीबन्दीले थप सजाय भोग्नुपर्ने हुन्छ ।’ 

सुझावित समाचार