ट्रेलमान्डु नेपालको आयोजनामा केभिआर समिट च्यालेन्ज शनिबार सुरु हुने भएको छ। यो च्यालेन्ज हरेक महिना हुने ट्रेल रनिङ प्रतियोगिता हो।
काठमाडौं उपत्यकालाई घेर्ने पाँच प्रमुख हिमाल फुलचोकी, शिवपुरी, भस्मासुर, चन्द्रागिरि र जामाचोमध्ये एउटाको शिखरमा पुग्न कठिन २० देखि ३० किलोमिटरको परिक्रमा केभिआर रनमा समावेश हुने गर्दछ।
ट्रेलमान्डुले दुई सत्र सफलतापूर्वक सम्पन्न गरिसकेको छ। आयोजकले यो वर्षको प्रतिस्पर्धामा .परिवारमैत्री वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ। जसमा सहभागीहरू फरक–फरक दूरीमा प्रकृतिको मज्जा लिँदै दौडन वा पैदल यात्रा गर्न सक्नेछन्।
ट्रेल रनिङमा नयाँ सहभागीहरूका लागि वा विस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि ७–१० किलोमिटरको फन रन-हाइक पनि राखिएको छ। यो छोटो दूरीको ट्र्याक परिवार र साथीहरूका लागि उपयुक्त बनाइएको छ।
यो वर्षको पहिलो रेसमा अमेरिका, जापान, फ्रान्स, नर्वे, भारतलगायत १३ देशका ८० भन्दा बढी धावकले हालसम्म दर्ता गरिसकेका छन्। इच्छुक धावकहरूले अझै पनि शुक्रबार बिहान १० बजेसम्म अनलाइन दर्ता गर्न सक्नेछन् ।
च्यालेन्जसमा पाँच चरण हुनेछ । रेस १ सन् २०२५ अक्टोबर ११, रेस २ नोभम्बर ८, रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६को जनवरी १० र रेस ५ फेब्रुअरी १ मा हुनेछ।